विजयपुर । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक विद्यालयका कक्षा तथा विद्यालय परिसरमा राजनीतिक दलसँग सम्बन्धित कार्यक्रम नगर्न आग्रह गरेको छ ।
आइतबार कार्यालयले सूचना जारी गर्दै विभिन्न ठाउँका सार्वजनिक विद्यालयमा राजनीतिक दलहरूले आफ्ना दलसँग सम्बन्धित कार्यक्रम गरिरहेको गुनासो आएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी सूचनामा विद्यालयको शैक्षिक क्षेत्रमा राजनीतिक दलका आन्तरिक कार्यक्रम, निर्वाचन, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेला लगायतका कार्यक्रम सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।
विद्यालयमा त्यस्ता कार्यक्रम हुन नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा समग्र स्थानीय सरकारलाई समेत अनुरोध गरिएको छ । प्रशासनले विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने गरी राजनीतिक कार्यक्रम सञ्चालन नगर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।