न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय राजनीतिक सप्ताह सुरु हुन लागेसँगै अमेरिकी सहर न्युयोर्कमा विश्वभरका नेता, कूटनीतिज्ञ, सञ्चारकर्मी तथा प्रतिनिधिको चहलपहल बढेको छ ।
आइतबार बिहानदेखि न्युयोर्कमा सिमसिम पानी परेसँगै मौसम चिसिँदै गएको भए पनि राष्ट्रसङ्घीय महासभाका कारण राजनीतिक तथा कूटनीतिक गतिविधि भने तीव्र बनेको छ । राष्ट्रसङ्घका अनुसार महासभाको उच्चस्तरीय सत्रमा करिब १३० देशका सरकार प्रमुखले सम्बोधन गर्नेछन् ।
महासभामा सहभागी हुन विभिन्न देशका प्रतिनिधि न्युयोर्क आइपुग्ने क्रम जारी छ । सहरका अधिकांश होटल भरिभराउ छन् भने होटल परिसर र आसपासका क्षेत्रमा विभिन्न देशका प्रतिनिधि तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति देखिएको छ । महासभाको समाचार सङ्कलनका लागि अमेरिका तथा विभिन्न देशबाट आएका सञ्चारकर्मीले काम सुरु गरिसकेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार वासिङ्टन डिसीबाट न्युयोर्क आउने कार्यक्रम रहेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत विभिन्न देशका शीर्ष नेता पनि महासभामा सहभागी हुन न्युयोर्क आउने क्रम जारी छ ।
महासभाका कारण आगामी करिब १० दिन न्युयोर्कमा विश्वभरका राजनीतिक नेता, प्रशासक, अभियन्ता तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहनेछ । राष्ट्रसङ्घको मुख्यालय आसपासका सुविधासम्पन्न होटलमा विदेशी विशिष्ट पाहुना तथा सरकार प्रमुखका लागि अग्रिम बुकिङ गरिएको छ ।
मिलेनियम हिल्टन न्युयोर्क वान युएन प्लाजा, द वेस्टिन न्युयोर्क ग्रान्ड सेन्ट्रल, वाल्डोर्फ अस्टोरिया न्युयोर्क र हयात ग्रान्ड सेन्ट्रललगायत होटलमा महासभाका सहभागीका लागि ठूलो सङ्ख्यामा कोठा अग्रिम बुकिङ गरिएको छ । होटलका कर्मचारी पनि पाहुनाको व्यवस्थापनमा व्यस्त देखिन्छन् ।
न्युयोर्कमा सेप्टेम्बरदेखि डिसेम्बरसम्म पर्यटकीय तथा व्यावसायिक गतिविधि बढ्ने भएकाले होटलको मागसमेत उच्च हुने स्थानीय व्यवसायी बताउँछन् । महासभाको उच्चस्तरीय सप्ताहका कारण राष्ट्रसङ्घको मुख्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । न्युयोर्क प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने विभिन्न स्थानमा सुरक्षा ब्यारियर राखिएका छन् । विशिष्ट व्यक्तिको आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि कतिपय सडक एकतर्फी बनाइएको छ भने केही सडक बन्द गरिएको छ ।
राष्ट्रसङ्घले पनि आगन्तुकका लागि मुख्यालय प्रवेश आगामी अक्टोबर १२ सम्म बन्द गरेको छ । सडकमा अवरोध भए पनि न्युयोर्कको भूमिगत रेल सेवा सञ्चालनमा रहेकाले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने स्थानीयको भनाइ छ ।
न्युयोर्क सिटी प्रहरी कमिसनर जेसिका टिस्चले महासभाका क्रममा सुरक्षा व्यवस्थाका लागि न्युयोर्क प्रहरी पूर्णरूपमा तयार र सतर्क रहेको बताएका छन् ।
म्यानहटनमा होटलमा कार्यरत समिर पाण्डेका अनुसार सेप्टेम्बर होटल व्यवसायका लागि सबैभन्दा व्यस्त समयमध्ये एक हो । महासभाका सहभागीका लागि विशेष भनेर होटलका कर्मचारीलाई छुट्टै जानकारी नदिइए पनि यस अवधिमा उच्च दरमा बुकिङ हुने गरेको उनले बताए । उनका अनुसार तीन महिनाअघि होटल बुकिङ गर्दा तुलनात्मक रूपमा सस्तोमा कोठा पाउन सकिन्छ ।
म्यानहटनमा खुद्रा पसल सञ्चालन गर्दै आएका ओमप्रकाश खण्डेवालले सेप्टेम्बरमा उपहारका सामानको व्यापार बढ्ने बताए । उनका अनुसार विगत एक दशकदेखि सेप्टेम्बरमा व्यापार बढेको तथ्याङ्क आफूहरूसँग छ ।
न्युयोर्कमा उबर चलाउँदै आएका तिलक गुरुङका अनुसार महासभाका क्रममा सडक अवरोध र रुट परिवर्तनका कारण छोटो दूरीको यात्रामा पनि बढी समय लाग्ने गरेको छ । उनले यस अवधिमा सबवेबाट यात्रा गर्दा सहज र किफायती हुने बताए ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभा सेप्टेम्बर २९ सम्म सञ्चालन हुनेछ । यस वर्षको महासभाको मूल नारा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन ः सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ ।
नेपालको तयारी
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सेप्टेम्बर २४ मा महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्नेछन् । सम्बोधनका लागि आवश्यक तयारी पूरा भएको नियोगले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल पनि महासभामा सहभागी हुन सोमबार न्युयोर्क आइपुग्ने कार्यक्रम रहेको छ । हालै भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट नेपालले ठूलो क्षति व्यहोरेको अवस्थामा यसपटकको महासभामा नेपालले जलवायु परिवर्तन तथा जलवायुजन्य विपद्का विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
महासभाको प्रमुख एजेण्डामध्ये जलवायु परिवर्तन पनि रहेकाले नेपालले जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा आफ्ना समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछ ।
हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालले हिमाली क्षेत्र तथा अन्य भूभागमा गम्भीर असर व्यहोर्नुपरेको विषय नेपालले उठाउने तयारी गरेको छ ।
नेपालले आयोजना गर्ने ‘सगरमाथादेखि समुद्र सतहसम्म’ विषयक साइडलाइन कार्यक्रममार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असर, हिमनदी पग्लिने क्रम तथा समुद्री सतह वृद्धिसँगको सम्बन्धबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको छ ।
नेपालले जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानीको विषय पनि प्राथमिकताका साथ उठाउनेछ । विकसित मुलुकले जलवायु वित्त तथा हानि–नोक्सानीका लागि उपलब्ध गराउने सहयोग वृद्धि गर्नुपर्ने नेपालको धारणा रहँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि जलवायु परिवर्तनका कारण मुलुक तथा मानिसको जीवनमा पर्ने असर गम्भीर बन्दै गएको बताएका छन् ।
महासभाको उच्चस्तरीय सप्ताह सुरु हुनुअघि न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले हालै नेपालमा भएको विपद्लाई जलवायु परिवर्तनका असरको पछिल्लो उदाहरणका रूपमा उल्लेख गरेका थिए ।
नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिबीचको सम्बन्धबारे प्रश्नको जवाफ दिँदै महासचिव गुटेरेसले आफू तीन वर्षअघि अन्नपूर्ण र सगरमाथा क्षेत्रका हिमनदीमा पुग्दा नै अवस्था गम्भीर बन्दै गएको र विनाशकारी घटना हुनसक्ने चेतावनी दिएको स्मरण गरे ।
जलवायु परिवर्तनका कारण आगामी दिनमा मुलुकहरूको अवस्था अझ गम्भीर बन्न सक्ने भन्दै उनले विश्व समुदायलाई सचेत हुन आग्रह गरे ।
जलवायु परिवर्तनको असर न्यूनीकरण, जलवायु वित्त तथा हानि–नोक्सानीका विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गराउन नेपालले महासभालाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रदेखि समुद्री सतहसम्म परेको असर विश्वव्यापी चुनौती बन्दै गएको अवस्थामा महासभाले त्यसको समाधानका लागि प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्यको बाटो तय गर्ने अपेक्षा गरिएको छ । रासस