विजयपुर । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमी प्रणाली सक्रिय बन्दै गएकाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्नेछ ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित निम्नचापीय क्षेत्र थप शक्तिशाली हुँदै ‘डीप डिप्रेसन’मा परिणत भई पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ। त्यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने र होचा तथा डुबानको जोखिम भएका क्षेत्रमा जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।