सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेका छन् । बाढीले दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार मानिस प्रभावित भएका छन् । शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।
उनले भने, “बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको छ भने अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।” रासस
































