विजयपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अघि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गर्नुभयो ।

उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिम्बा लगायत नेताहरू सहभागी हुनुभयो ।

उद्घाटन सत्रमा वक्ताहरूको बोल्ने क्रम जारी छ । महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रम भने सोमबार र मङ्गलबार हुनेछन् । निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । रासस