विजयपुर । कोशी प्रदेश सरकारले नदीको कटान नियन्त्रणका लागि विनियोजन गरेको २० लाख रुपैयाँ कार्यान्वयनमा वराहक्षेत्र नगरपालिकाले ढिलाइ गरेको छ । नगरले बजेट कार्यान्वयनमा ढिलाइ गरेपश्चात आक्रोशित स्थानीयले आन्दोलन उत्रिने चेतावनी दिएका छन् ।

वराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत श्रीलङ्का टप्पु क्षेत्रमा नदी कटान नियन्त्रणका लागि विनियोजित आपत्कालीन बजेट कार्यान्वयन गर्न नगरपालिकाले स्थलगत नापजाँच, लागत अनुमान (इस्टिमेट) तथा सम्झौताको प्रक्रिया अघि नबढाएको स्थानीयको आरोप छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोलीले कटान प्रभावित क्षेत्रको निरीक्षण गरेपछि बोरा, जाली तथा बाँसको पाइलिङमार्फत तत्काल कटान नियन्त्रण गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको थियो । उक्त रकम नगरपालिकाको खातामा समेत आइसकेको स्थानीयले बताएका छन् ।

बजेट प्राप्त भएपछि वडाध्यक्षको रोहवरमा टोल समिति तथा उपभोक्ता समिति गठन गरी बैंक खाता समेत खोलिसकिएको स्थानीय प्रतिनिधि जयराम माझीले बताए । तर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्थलगत निरीक्षण गरी नापजाँच तथा अनुमान (इस्टिमेट) तयार नगर्दा सम्झौताको प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ ।

माझीका अनुसार काम सुरु गर्न पटक–पटक आग्रह गर्दा पनि विभिन्न कारण देखाउँदै प्रक्रिया अघि बढाउन ढिलाइ गरिएको छ । पछिल्लो समय आपत्कालीन बजेटअन्तर्गतको काम हिउँदमा गरे पनि हुने भन्दै तत्काल काम सुरु गर्न नगरपालिकाले चासो नदेखाएको उनको आरोप छ । प्राविधिक कर्मचारीसमेत स्थलगत निरीक्षणका लागि नखटाइएको उनको भनाई छ । 

प्रमुख प्रशासकीय अधिकृतलाई पटक–पटक सम्पर्क गरी स्थलगत निरीक्षण तथा सम्झौताका लागि समय मिलाइदिन आग्रह गर्दा कहिले काठमाडौं, कहिले विराटनगरमा रहेको र कहिले पानी परेको कारण देखाउने गरिएको स्थानीयको गुनासो छ । हिउँदमा काम गरे पनि हुने भन्दै तत्काल काम गर्न आवश्यक नरहेको जवाफ पाएको उनीहरूको भनाइ छ ।  स्थानीयले प्रदेश सरकारले विनियोजन गरेको आपत्कालीन बजेट तत्काल कार्यान्वयन गरी तटबन्ध निर्माणको काम अघि बढाउन माग गरेका छन् । 

“हाम्रो जायजेथा कोशीले लगेपछि अर्को वर्ष बाँध बाँधेर हुन्छ ?” स्थानीय प्रतिनिधि माझीले प्रश्न गर्दै भने, “प्रदेश सरकारले रकम छुट्याएको छ भने काम गर्न किन ढिलाइ भइरहेको छ ?” नदी कटानबाट प्रभावित क्षेत्रमा आपत्कालीन रूपमा खर्च गर्नुपर्ने बजेट समयमै कार्यान्वयन नभए कोशीको बाढी जुनसुकै बेला बस्तीमा पस्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

श्रीलङ्का टप्पुको कटान नियन्त्रणका लागि आवश्यक नीतिगत निर्णय गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि अनुगमनका क्रममा जनाएका थिए । उनले वराहक्षेत्र र बेलका नगरपालिकाका नगरप्रमुखसँग समेत छलफल गरेका थिए । 

छलफलपछि प्रदेश सरकारले पहिलो चरणमा ५० लाख र दोस्रो चरणमा ५० लाख गरी तत्काल १ करोड रुपैयाँ विनियोजन गरेर कटान नियन्त्रणको काम सुरु गर्ने जनाएको थियो । कोशी नदी कटान नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरी आवश्यक जनशक्ति परिचालन गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका थिए ।

मुख्यमन्त्रीको प्रतिबद्धतापछि वराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडामा २०–२० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो । तर, उक्त रकम कार्यान्वयनमा ढिलाइ भएको स्थानीयको गुनासो छ । स्थानीयले तत्काल प्रमुख प्रशासकीय अधिकृत वा प्राविधिक टोलीलाई स्थलगत रूपमा खटाएर नापजाँच तथा अनुमान (इस्टिमेट) तयार गरी काम अघि बढाउन माग गरेका छन्। माग सम्बोधन नभए आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने स्थानीय प्रतिनिधि माझीले चेतावनी दिए ।

उनले भने, “प्रमुख प्रशासकीय अधिकृत वा प्राविधिक टोली स्थलगत पुगेर नापजाँच गरी काम अघि बढाउन आग्रह गरेका छौं । अन्यथा तालाबन्दी र नाराजुलुस गर्नुपर्ने अवस्था आउन सक्छ ।” उनले तत्काल तटबन्ध निर्माणको काम सुरु नभए श्रीलङ्का टप्पुवासी आन्दोलनमा उत्रिन बाध्य हुने बताए । उनले भने “प्रमुख प्रशासकीय अधिकृतले आलटाल गरेको देखिन्छ । यस्तै अवस्था रहे नगरपालिकामा तालाबन्दी गर्नुपर्ने हुन्छ ।” बजेट कार्यान्वयनमा भएको ढिलाइबारे वराहक्षेत्र नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीले चाँडै काम अघि बढाउने बताइन् ।