धरान । धरान जुनियर जेसीजले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ । 

तालिम आइतबार सम्पन्न भएको हो । स्थानीय युवा तथा विद्यार्थीहरूलाई आपतकालीन उद्धार र पूर्वतयारीका लागि सक्षम बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो । सशस्त्र प्रहरी बल धरान बेस क्याम्पको प्राविधिक सहयोगमा भएको तालिममा सशस्त्र प्रहरीका डिएसपी युकेश उप्रेती मुख्य प्रशिक्षक रहेका थिए । तालिममा अभ्यासका लागि सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका इन्स्पेक्टर मेघराज राउतको टोलीले सहयोग गरेको थियो । 

तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यासहरू गरिएको थियो । जसमध्ये अग्नि नियन्त्रण व्यवस्थापन, भूकम्पीय विपद् राहत तथा उद्धार, प्राथमिक उपचारलगायतबारे तालिम दिइएको थियो । जसमा सचेतनासँगै उक्त विपद् आउँदा गरिएको प्राविधिक तयारीसहित व्यवस्थापकीय जिम्मेवारीबारे पनि ज्ञान दिइएको थियो । यस्तै भूकम्पको समयमा भत्किएका संचरनाहरूबाट सुरक्षित रूपमा खोज तथा उद्धार गर्ने प्रविधिबारे पनि जानकारी दिएको छ ।

pvhm1

यस्तै पौडी तथा लाइफगार्ड सिपबारे पनि जानकारी दिइएको छ । पानीजन्य दुर्घटनाबाट बच्न पौडी खेल्ने विशेष प्रविधि र लाइफगार्ड सिपहरूका साथै पानीमा डुबेकाहरूको उद्धार गर्ने व्यावहारिक प्रदर्शनहरू पनि सिकाइएको छ । 

तालिमका मुख्य प्रशिक्षक युकेश उप्रेतीले कलेज स्तरबाटै अग्रसरता लिएर यस प्रकारको विपद् व्यवस्थापन तालिम आयोजना गरिएको यो पहिलो पटक भएको उल्लेख गरे । पिभिएचएमका अध्यक्ष अनिल श्रेष्ठले सशस्त्र प्रहरी बलको दक्ष प्रशिक्षक टोली र धरान जुनियर जेसीजलाई धन्यवाद ज्ञापन गरे । उनले विद्यार्थीहरूको बृहत्तर हित र सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता उपयोगी तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

सहभागी विद्यार्थीका तर्फबाट महिमा राईले तालिम सैद्धान्तिक मात्र नभई व्यावहारिक रूपमा अत्यन्तै फलदायी र जीवनोपयोगी रहेको बताइन् । यसैबीच कार्यक्रमको समापन बकल बीच रिसोर्टमा सम्पन्न गरिएको थियो । सहभागी विद्यार्थी तथा बुटक्याम्पर्सहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।