काठमाडौँ / प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलार्इ सम्बोधन गर्दै आजको दिन आधुनिक नेपालको मजवुत जग निर्माण गर्ने जनमुखी एवं लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रूपमा आजको गणतन्त्र दिवसलाई भएको बताए ।
प्रधानमन्त्री ओलीले मुलुक आर्थिक सामाजिक विकासको दिशामा अघि बढेको समेत बताए । ओलीले यस दिवसको अवसरमा नेपाली राजनीतिबाट प्राप्त उपलब्धी र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउदै अघि बढ्नुपर्न आजको आवश्यकता भएको बताए ।
आज सैनिक मञ्च टुँडिखेलमा ९औँ गणतन्त्र दिवसका अवसरमा विशेष समारोहको आयोजना गरिएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्री पनि सहभागिता रहेको छ । विशेष समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झाले भने बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रम आफूलाई बस्ने ठाउँको व्यवस्था नगरिएको भन्दै बहिस्कार गरेका छन् ।
शनिबार बिहान सरकारले आयोजना गरेको गणतन्त्र दिवस बनाउने कार्यक्रममा पूर्वराष्ट्रपति झा राष्ट्रिय पोशाकमा सजिएर मञ्चमा आइपुगेका झा मञ्चमा केहीबेर यताउति घुमेर आफूलाई बस्ने ठाउँको व्यवस्था नगरिएको भन्दै रिसाएर तत्कालै फर्किएका छन् ।
गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा औपचारिक समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली , उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थति रहेको छ ।
कार्यक्रम बहिस्कार गरेर फर्किएका पूर्व उपराष्ट्रपतिलाई सरकारी अधिकारीहरुले फर्काउन खोजेका थिए । तर उनी नमानी फर्केका छन् ।
पूर्णपाठ पढ्नुहोस्
नेपालमा गणतन्त्रको स्थापनाका निमित्त नेपाली जनताले गरेका संघर्ष र जनआन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले आज गणतन्त्र दिवस मनाइरहँदा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यस क्रममा समृद्ध नेपाल निर्माण गर्ने नेपाली जनताको सपना पूरा गर्ने सिलसिलामा सञ्चालित आन्दोलनहरूमा अङ्गभङ्ग हुन पुगेका र घाइते हुनुभएका समस्त योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।
२०६२–६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेको महत्वपूर्ण अवसरलाई म यहाँ गौरवका साथ स्मरण गर्न चाहन्छु । नेपाली जनताले लामो संघर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताको अबैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भको रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन एउटा ऐतिहासिक उपलब्धीको दिन हो । आधुनिक नेपालको मजवुत जग निर्माण गर्ने जनमुखी एवं लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रूपमा आजको गणतन्त्र दिवसलाई लिनु पर्दछ ।
२००७ सालदेखि नेपाली जनताले गरेको संघर्षको परिणाम जननिर्वाचित संविधान सभाबाट २०७२ साल असोज ३ गते संबिधान जारी भएको छ । यसरी संविधान जारी हुनुले नेपाली जनताले विगतमा लामो समय गरेका संघर्ष र बलिदानको सम्मान र ती संघर्षबाट प्राप्त उपलब्धीहरु संस्थागत भएका छन् ।
गणतन्त्रात्मक लोकतन्त्र संस्थागत भएको छ । यस संविधानले सबै नेपालीलाई समान हक अधिकार प्रदान गरेको छ । संविधानले राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको छ । संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, पिछडिएका वर्ग लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत गरेको छ । सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बर्धनको बाटो फराकिलो गरेको छ । सामाजिक न्यायको प्रत्याभूति गरेको छ ।
संबिधानको कार्यान्वयनसँगै जारी लामो राजनीतिक संक्रमण मूलतः अन्त्य भएको छ, मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको छ । यस प्रकृयालाई जति छिटो गतिमा अघि बढाउन सकिन्छ, हामीले प्राप्त गरेका राजनीतिक उपलब्धी र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउदै अघि बढ्न सकिन्छ ।
संबिधान जारी भएपछि अब आर्थिक विकास हाम्रो प्राथमिकता भएको छ । विकास कसरी अघि बढाउने भन्नेबारेमा हामी सल्लाहबाट सही नीतिहरु तय गर्दै अघि बढ्न सक्छौ । र, बढ्नै पर्छ । कही कतै केही राजनीतिक वा अन्य भिन्न विचार वा असहमति भए वार्ता र संवाद कै माध्यमबाट समाधान गर्न सकिन्छ । तसर्थ, संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा संलग्न रहन म सबैसँग पुनः आग्रह गर्दछु ।
हामीले भूकम्पको महाविनास, तनाव, आन्दोलन, बन्द र आपूर्ति व्यबस्थामा पैदा भएका महासंकटहरुलाई पार गरेका छौं । धुलो टक्टक्याएर पुनर्निर्माण र नव निर्माणमा जुटेका छौं । अब समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो आकांक्षालाई साकार पार्न दृढता र तिब्रताका साथ अघि बढ्नु आवश्यक छ ।
वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सुदृढिकरणका लागि प्रतिवद्ध छ । म सबै राजनीतिक दलहरु र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यको लागि हार्दिक आग्रह गर्दछु । हाम्रो देश विविधता र प्राकृतिक श्रोतहरुले धनी छ । यी श्रोत र सम्पदाहरुको सही ढंगले प्रयोग गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन यतिबेला हामीलाई राष्ट्रिय एकता र संकल्पकासाथ तिब्र प्रयासको आवश्यकता छ । आजको दिनले यसका निम्ति हामी सबैलाई प्रेरणा प्रदान गरोस् ।
अन्त्यमा, यो राष्ट्र निर्माण गर्न, रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो प्राण उत्सर्ग गर्ने समस्त ज्ञात–अज्ञात शहीदहरूप्रति पुनः एकपटक श्रद्धासुमन प्रकट गर्दछु । शहीदहरूका सपना साकार पार्न समस्त दिदीबहिनी तथा दाजुभाइहरूलाई एकताबद्ध हुँदै अघि बढ्न म हार्दिक अपिल गर्दछु ।
धन्यवाद ।