धरान/ हरेक वर्ष आयोजना हुँदै आएको ‘नेपाल आइस नेचुरा मिस पूर्वाञ्चल’ को सातौ संस्करण शुरु भएको छ ।
सिल्भर इन्टरटेन्मेन्ट र हाईट इभेन्टको आयोजना तथा सिजी ब्रुअरीको मुख्य प्रायोजनमा हुने मिस पूर्वाञ्चलका सहभागी युवतीहरुलाई मङ्गलबार ओरियन्टेसन दिएर औपचारिक रुपमा प्रशिक्षण शुरु गरिएको हो । कार्यक्रममा बोल्दै मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङले मिस पूर्वाञ्चल सौन्दर्य प्रतियोगीता मात्र नभएर व्यक्तित्व विकासको अवसर भएको बताइन् । उनले यस्ता कार्यक्रममा दिइने प्रशिक्षणले समूहमा बोल्न सक्ने र आपूमा भएका प्रतिभा प्रस्तुत गर्नसक्ने क्षमताको विकास हुने बताइन् । सहभागी युवतीहरुलाई बुधबारबाट कार्यक्रमकी कोरियोग्राफर प्रियारानी लामाले कोरियोग्राफी सिकाउने छिन् भने विभिन्न क्षेत्रका विज्ञले नियमित प्रशिक्षण दिने आयोजकले जनाएको छ । सहभागीहरुलाई व्यक्तित्व विकास, वाचन कला, सौन्दर्य, स्वास्थ्य, पर्यटन लगायतका विषयमा प्रशिक्षण दिइने कार्यक्रम निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।
यसपटक मिस पूर्वाञ्चलमा सुनसरी, मोरङ, झापा, धनकुटा, पाँचथर र सिरहाबाट युवतीहरु सहभागी छन् । उनीहरुलाई क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले प्रतियोगीताबारे जानकारी गराएका थिए ।
असार ११ गते धरान सभागृहमा हुने फाइनलमा विजयी हुनेले ‘नेपाल आइस नेचुरा मिस पूर्वाञ्चल २०१६’ उपाधीसहित यामाहा फेसिनो स्कुटी र बैङ्कक घुम्ने अवसर पाउनेछन् भने फस्ट रनरअपले ५१ हजार, सेकेन्ड रनरअपले ३१ हजार र अन्य टाइटल विजेताले १० हजार पुरस्कार पाउनेछन् ।
यसपटककी विजेताले चाँदी र बहुमूल्य पत्थरजडित ‘क्राउन’ (ताज) पाउनेछिन् । तर विजेताले आप्mनो अवधी सकिएपछि नयाँ मिस पूर्वाञ्चललाई हस्तान्तरण गर्नुपर्छ । आयोजकले यसपटकबाट रनिङ ताजको व्यवस्था गरेकोे आयोजकले जनाएको छ ।