pool

बिर्तामोड/झापाको गरामनी र भद्रपुर नगरपालिकालाई जोड्ने १ सय ५ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वर्षायाम लागेसँगै देवनीया खोला वारी र पारिका जनता दुई घण्टा लामो समयपछि मात्र पुग्न सकिने अवस्थाको अन्त्य भएको छ ।
जिल्ला विकास समितिको पहल र स्विस कोअपरेसनको सहयोगमा निर्माण भएको पुलबाट गरामनी गाविसका एकसय ५ घर परिवार लाभान्वित भएका छन् । पुल निर्माणमा स्थानीय वासिन्दाको तीन प्रतिशत, जिल्ला विकास समितिको तीन प्रतिशत, गाविसको तीन प्रतिशत लगानी छ भने बाँकी स्विस कोअपरेसनद्वारा सञ्चालित हेल्भेटास नामको एनजीओको सहयोग छ ।
बाह्रघरेस्थित देवनीया खोलाको मसानघाटमा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माण गर्न ४६ लाख ७७ हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । बिर्तामोडमा रहेको सहारा नेपालले आगामी दिनमा पुल निर्माणार्थ दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यले सातवटा जिल्लाका २३ जना प्राविधिकलाई सोही पु्लमा १० दिने तालिम प्रदान गरेको छ । बुधबार एक समारोह आयोजना गरी सहभागीलाई प्रमाणपत्र वितरण गरेको सहारा नेपालका कार्यक्रम अधिकृत लीलाप्रसाद नेपालले बताए ।
नेपालमा ६० वर्ष पहिलेदेखि पहाडी जिल्लाका नदीनालामा मात्र झोलुङ्गे पुल निर्माण गरिँदै आएको थियो । २०६६ सालयता गाउँदेखि गाउँ जोड्न नेपाल सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत सो पुल निर्माण गरिएको हो । कार्यक्रममा स्थानीय विकास अधिकारी लगायत प्राविधिक र सहारा नेपालका कार्यक्रम निर्देशक पुष्पाञ्जली सिन्हा लगायत उपस्थित थिए ।