धरान / प्रकृतिपूजक किरात राई जातिहरुले मनाउने उभौलीको शनिबार विधिवत समापन गरिएको छ । विजयपुरस्थित हाङ बुद्धीकर्ण राईको दरबार क्षेत्रबाट बैसाख पूर्णिमाको दिनबाट सुरु गरिने उभौलीको १५ दिनपछि धरान(१७ स्थित साकेला पार्कमा समापन गरिएको हो । समापनको अवसरमा जिल्ला भित्रका प्रारम्भिक कार्य समिति बिचमा साकेला शिली प्रतियोगितासमेत गरिएको छ । धरान भित्र र धरान बाहिरका प्राकासहरु बिचमा छुट्टा छुट्टै शिली प्रतियोगिता गरिएको थियो । धरान भित्रको स्पर्धामा धरान(१५ विजेता बनेको थियो भने धरान ८ दोस्रो र धरान १९ तेस्रो बनेको छ । बाहिरमा हासपोसा प्रथम, शान्तिनगर दोस्रो र पकली तेस्रो बनेको आयोजक किरात राई यायोक्खा जिल्ला कार्य समितिका सचिव हिन्दुहाङ सोरेङ राईले बताए ।
उनका अनुसार उत्कृष्ट साँस्कृतिक सामग्री प्रदर्शन तर्फ धरान बाहिरमा इटहरी प्रथम, पकली दोस्रो र इटहरी ५÷६ तेस्रो बनेको छ । धरान भित्र धरान १५ प्रथम, धरान ८ दोस्रो र धरान १९ तेस्रो बनेको छ । उत्कृष्ट भेषभुषामा धरान १९ प्रथम, धरान(९/१० दोस्रो र इटहरी ५/६ तेस्रो बनेको छ । उत्कृष्ट लयभाकामा धरान १८ प्रथम, धरान १९ दोस्रो र पकली तेस्रो बनेको छ । उत्कृष्ट शिली प्रदर्शनी प्रकाशपुर प्रथम, धरान १८ दोस्रो र हासपोसा तेस्रो बनेको छ । उत्कृष्ट व्यवस्थापकमा महेन्द्रनगर प्रथम, बराहक्षेत्र दोस्रो र इनरुवा तेस्रो बनेको छ । पुरस्कृत सबैलाई सम्मान पत्रसहित वावु (चिण्डो) प्रदान गरिएको छ ।
शिली प्रतियोगिताको कारण साकेला पार्क भरिभराउँ थियो । प्रतियोगी र पाहुँना टोलीहरुलेसमेत शिली नाँचेका थिए । यसपटक मोरङ, उदयपुर र झापाबाट पनि साकेलाको टोली अतिथिको रुपमा आइपुगेका थिए । आयोजकका अनुसार साकेलामा झण्डै ५० हजार हाराहारीमा साकेला नाच्ने र हेर्नेहरुको उपस्थिति रहेको थियो । २०४७ सालदेखि निरन्तर साकेला पार्कमा शिली प्रतियोगिता गराउँदै साकेलाको विधिवत समापन गरिने गरिएको छ ।
‘बिर्खजसरानी साकेला कप’ गराउँदै साकेला पार्कमा शिली प्रतियोगिता सुरु गरिएको सचिव राईले बताए । २०७२ सालमा विनासकारी भूकम्पको कारण साकेला औपचारिक रुपमा साकेला मनाइएको थिएन् । समापनको अवसरमा ११० वर्षका ज्येष्ठ नागरिक कृपासीर राईलाई ‘ज्येष्ठ नागरिक सम्मान’ बाट सम्मानित गरिएको छ । त्यस्तै सुनसरीबाट पहिलो महिला सभाषद् चियामा राई र तायारीज्मी बहुद्देश्य भवन निर्माण गरिरहेका कर्णबहादुर राईलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।
त्यस्तै राई जातिबाट सुनसरी उद्योग बाणिज्य संघमा प्रतिनिधित्व गरेको भन्दै प्रचार तथा संगठन सचिव उपेन्द्र चाम्लिङलाई फेटा गुथाएर सम्मानित गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि किरायाका केन्द्रीय अध्यक्ष तिलक राई, जिल्ला अध्यक्ष कमला राईले उनीहरुलाई सम्मान पत्र हस्तान्तरण तथा फेटा गुथाएका थिए । समापनमा २४ वटा प्राकासबिच स्पर्धा भएको थियो । धरानबाट ८, ९, १०, १२, १३, १५, १६, १७, १८ र १९ नम्बर वार्डबिच स्पर्धा भएको थियो भने धरान बाहिरमा विष्णुपादुका, बराहक्षेत्र, प्रकाशपुर, भरौल, महेन्द्रनगर, इनरुवा, सोनापुर, दुहवी, पकली, इटहरी २, ४ र ५ बिच स्पर्धा भएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटनमा किरायाका केन्द्रीय अध्यक्ष तिलक राई, धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, १९ वटा जातीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
तस्विरहरुः उपेन्द्र चाम्लिङ