डोटी / बुधबार राति आएको बाढीले डोटीमा करोडौँको क्षति भएको छ । डोटीको लाटामाण्डौ गाविसको तिलतालीमा गएराति वर्षासँगै आएको बाढीले ठूलो क्षति गरेको हो । स्थानीय जिजौडाखोला, किनमणेखोला, बन्नाखोला र खुनखोलामा एक्कासि आएको बाढीले गाउँलाई पुरेको छ भने खेतीलाई नोक्सान गरेको छ ।
गाउँमा रहेका स्थानीयवासीका घर, आँगन, चर्पी, करेसाबारी, गाई बाँध्ने गोठ, घरमा पसेको बाढीले ठूलो क्षति पु¥याएको घटनास्थलबाट प्रहरी चौकी तिलतालीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर रोकायाले बताए। दलित बस्तीमा भाँडाकुँडा बनाउने मेसिन राखेका घर टहरालाई समेत बाढीले पुरेको बताइएको छ । करिब १५० भन्दा बढी घरमा पसेको पानीले घरका तल्लो तलालाई पूर्णरुपमा क्षति पु¥याएको छ ।
तिलतालीमा रहेका खानेपानीका ४५ वटा घारा, पानीका मुहानसमेत नष्ट भएको प्रहरी सहायक निरीक्षक रोकायाले बताए । उनले भने – “स्थानीयवासीले करिब एक सयभन्दा बढी रोपनीमा लगाएको बदाम समेत बाढीले नष्ट गरेको छ ।” करिब १५ मिनेटसम्म भएको वर्षाले करोडौँको सम्पत्ति बगाएको स्थानीय पीडित गौमती बलायरले बताए।
“खाना पकाइरहेका बेला एक्कासि आकाश गर्जियो, बिजुली चम्कियो, वर्षा भयो, आँगनमा रहेका भिज्ने सामान भित्र राख्न नपाउँदै खहरेखोला गर्जिएर आए, हतार हतार माथिल्लो तलामा दौडिएर बाँचे,” उनले भने ।
गएरातिकै बाढीमा परेर तिलतालीकी ९६ वर्षीया तलुदेवी टमटा गम्भीर घाइते भएकिछन् । उनको सुजङ अस्पताल, राजपुरमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । लाटामाण्डौ गाविसकै वडा नं ८ गोपघाट बजार नजिकै आठ वटा घरसमेत बाढीको जोखिममा रहेका छन् । थप पानी परे खोलाको किनारका ती घर बग्ने सम्भावना रहेको छ ।
सोही ठाउँका हर्क बलायरको पक्की घर पूर्णरुपमा भत्केको छ भने अर्जुन बलायरका दुई वटा दुहुना भैँसी पुरिएका छन् । घरको आँगनमा बाँधिएका भैँसीलाई एक्कासि आएको बाढीले पुरेको हो ।
बुधबारकै बाढीबाट बनलेक गाविसका ३, ४ र ५ वडाका ४५ वटा घर सार्नुपर्ने बाध्यता रहेको छ । एक्कासि आएको बाढीले बगाएर ल्याएका ४० टनभन्दा गह्रौँ ढुङ्गा र बालुवाले बस्तीका खेतबारीलाई बगरमा परिणत गरिदिएको छ । लगाइएको बाली र घर जोखिममा रहेपछि बस्ती सार्नुको विकल्प नभएको स्थलगत भ्रमणमा रहेका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले बताए । एक्कासि आएको बाढीका कारण डोटीका छुट्टाछुट्टै स्थानमा करोडौँको क्षति भएको छ । रासस