काठमाडौँ / सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको ७५ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको छ । मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरलाई असार १० गते नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १०ः४५ बजे निधन भएको अस्पतालका सञ्चार अधिकृत आएपी मैनालीले जानकारी दिए । उनलाई मूत्र प्रणालीका क्यान्सर विशेषज्ञ डा रोविन जोशीको टोलीले उपचार गरेका थिए । उन दुई महिनाअघि मात्र भारतको राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गरी स्वदेश फर्केका थिए । मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि त्रिचन्द्र कलेजमा राखिने र भोलि मात्र अन्तिम संस्कार गरिने परिवारले बताएको छ । मानन्धर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन । पछिल्लो समय उनी सङ्घीय समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति थिए । रासस