धरान / एघारदिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले जुलुस निकालेका छन् । जुलुसमा स्वतस्फूर्त रुपमा विद्यार्थीहरु सहभागी बनेका थिए । डा. केसीले मेडिकलमाफीया विरुद्धमा आठौं पटक अनसनमा छन् । उनको मागप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै विद्यार्थीहरुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने स्वर्तस्फूर्त रुपमा आन्दोलनमा उत्रिएको पूर्वाञ्चल इन्जिनियरिङबाट प्रतिनिधित्व गरेका विद्यार्थी शुरेस भण्डारीले बताए । उनले डा. केसीले राखेका मागहरुको सुनुवाई नभएमा थप आन्दोलनमा उत्रिनेसमेत बताए । त्यस्तै प्रतिष्ठानका विद्यार्थीहरुले पनि यस अघिदेखि डा. केसीको समर्थनमा र्याली, मैनबत्ति बाल्ने कार्यक्रम गरिरहेका छन् । डा. केसी ऐक्यवद्धता समूहले हरेक पटकको आन्दोलनमा ऐक्यवद्धता जनाउने गरेको छ । संयुक्त रुपमा जुलुसमा सहभागी विद्यार्थीहरुले भ्रष्टचारलाई कारबाही गर, लोकमान मुर्दाबाद, चिकित्सा शिक्षा ऐनमा माथेमा प्रतिवेदन अनुसार पूरा गरलगायतको माग गर्दै जुलुसमा विभिन्न प्ले कार्डहरु बोकेर सहभागी बनेका थिए । प्रतिष्ठानका विद्यार्थीहरुले जिओपिडी अघिबाट धरानको भानुचौकसम्म जुलुस निकालेका थिए भने इन्जिनियरिङका विद्यार्थीहरुले पनि स्वतस्फूर्त रुपमा क्याम्पसबाट भानुचौकसम्म आइपुगेका थिए । संयुक्त रुपमा भानुचौकमा भेला भएर छाताचौक हुँदै भानुचौकसम्म आइपुगेको थियो ।