taplejungताप्लेजुङ / ताप्लेजुङमा स्थानीय निकायकोे पुनःसंरचनाको प्रारम्भिक कार्य यो महिनाभित्रै सक्नेगरी काम शुरु भएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगले सीमा निर्धारणको जिम्मा जिल्ला तहमै दिएसँगै यस जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक सहयोग समितिभित्र अनौपचारिक छलफल तथा आन्तरिक तयारी शुरु भएको हो । आगामी सोमबार पहिलो बैठक बसेर राय–सुझाव सङ्कलनका लागि आवश्यक कामकारवाही अगाडि बढाइने स्थानीय विकास अधिकारी केशवप्रसाद भट्टराईले जानकारी दिए । ताप्लेजुङमा एक नगरपालिकासहित ४८ गाविस छन् । यसमध्ये नगरपालिकामा आसपासका गाविसलाई थप गरी बाँकी रहेका गाविस मध्येबाट आठवटा गाउँपालिकाको संरचना बनाइने अनौपचारिक छलफलबाट निष्कर्ष आएको छ । स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्लामा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति रहने प्रावधानअनुसार समितिको सदस्य सचिवमा योजना अधिकृत छन् । यस्तै जिल्ला प्रशासन, जिल्ला प्राविधिक, मालपोत, नापी कार्यालयका अधिकृत प्रतिनिधि सदस्य र जिल्ला वन, तथ्याङ्क कार्यालयका प्रतिनिधि आमन्त्रित सदस्य रहने जनाइएको छ । उक्त समितिले साउन मसान्तभित्रै आयोगले तय गरेको प्रावधानभित्र रहेर नगरपालिका र गाउँपालिकाको सिमाना निर्धारण गरी प्रतिवेदन पेश गर्नुपर्ने भएकाले अनौपचारिक छलफल र आन्तरिक तयारीलाई तीब्र बनाइएको स्थानीय विकास अधिकारी भट्टराईले बताए । यसअघि भएको अनौपचारिक छलफलका क्रममानै यहाँको भौगोलिक बनावट, जनसङ्ख्याको वितरणले स्थानीय संरचनामा कठिनाई हुने देखिएको छ । जिल्लाको ओलाङ्चुङगोला, लेलेप, तापेथोक, याम्फुदिन, कालिखोला लगायतका गाविस विकट रहेको साथै ती गाविसको भौगोलिक क्षेत्रफल धेरै रहेपनि जनसङ्ख्या न्यून रहेकाले मिलाउन समस्या हुने देखिएको छ । यस्तै जिल्लाको ग्रामीण क्षेत्रको विकास, स्थानीय स्रोत–साधनका हिसाबले पनि मिलाउन समस्या हुने देखिएको स्थानीय सरोकारवालाले बताएका छन् । स्थानीय संरचनामा जातीय, भाषिक, साँस्कृतिक बसोबास मिलाउने, नदी, नाला लगायत खोला, खोल्सा जस्ता प्राकृतिक अवरोध नाघ्नेगरी सिमाना निर्धारण गर्न नपाइने जस्ता प्रावधानले यस जिल्लामा समस्या सिर्जना हुने देखिएको छ । तर आयोगको निर्देशन र प्रावधानअनुसार राजनैतिक दल, स्थानीय नागरिक समाज, सरकोकारवाला विज्ञ सबै पक्षसँगको छलफल, अन्र्तित्र्रmया, राय, सुझावका आधारमा सुक्ष्म अध्ययन गरी संरचना तयार गर्नेगरी काम गर्ने तयारी भएको बताइएको छ ।