भीमदत्तनगर / ग्रीष्मकालीन ओलम्पिकका एक दर्जन संस्करणमा सहभागी नेपाली खेलाडीमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका मुक्केबाज विष्णुबहादुर सिंहले सन् १९८८ मा सोल ओलम्पिकमा नेपालका लागि एउटा इतिहास रचे । सन् १९९४ मा भएको टोकियो ओलम्पिकबाट ओलम्पिकको यात्रा तय गरेको नेपालले भोलिदेखि ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागिता जनाउँदै छ । तर उपाधि जित्नुभन्दा पनि सहभागितामा रमाएका खेलाडीलाई एकमात्रै ओलम्पिकका रेकर्डधारी खेलाडी सिंहले रियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई प्रतिस्पर्धा अवधिमा टिक्न मात्रै होइन उपाधि उचाल्छु भन्ने आत्मबल बनाएर मैदानमा उत्रिन सुझाएका छन् । सोल ओलम्पिकमा मुक्केबाज सिंहले पाराग्वेका मुक्केबाज रेस्पोनो प्रोभेरालाई हराएर पहिलो चरण पार गरेका थिए । अर्को प्रतिस्पर्धामा अमेरिकी मुक्केबाजसँग पराजित हुन पुगे । ओलम्पिक संस्करणमा सहभागी नेपाली खेलाडीमध्ये प्रतिद्वन्द्वीलाई स्तब्ध पारेर पहिलो चरण पार गर्ने सिंह एक्ला खेलाडी हुन् । सुदूरपश्चिमको धनगढीमा बक्सिङको वरिष्ठ प्रशिक्षकमा कार्यरत रहनुभएका सिंहले रियो ओलम्पिकमा नेपाली खेलाडी छोटो समयको प्रशिक्षण र बिना तयारी गइरहेकामा असन्तुष्टि व्यक्त गर्दै उपाधि पाउने आशा आकाशको फल भएको बताए । “अन्यत्र मुलुकमा योजनाबद्ध तरिकाले ओलम्पिकमा भिड्न ८– १० वर्षदेखिको तयारी हुन्छ” सिंहले भने– “त्यो तयारीका सामु हाम्रो दुई महिनाको प्रशिक्षणको कुनै अर्थ छैन ।” पछिल्ला वर्षहरुमा खेलकुद क्षेत्रमा राज्यले लगानी बढाए पनि त्यो खेलाडी र प्रशिक्षकसम्म पूरापूर लगानी नभएकै कारण अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको नतिजा निराशाजनका रहेको उनको भनाइ छ । “हाम्रो बेलासम्म प्रशिक्षणमा राम्रै थियो,” सत्ताइस वर्ष पहिले ओलम्पिक खेलेका सिंहले भने– “खेलाडीलाई खेलकुद सामग्री सुविधाका साथै उसको सबैखाले माग पूरा गर्न सकिए मात्रै राम्रो प्रदर्शन गर्ने मनोबल आउँछ ।” विभिन्न सञ्चारमाध्यममा रियो आलम्पिकमा सहभागी हुने नेपाली खेलाडीको चर्चा भइरहँदा उनको टिप्पणी थियो – “खेलाडीले प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्ने अवस्था विद्यमान छ । उपाधि नजिक नपुगे पनि आफ्नो रेकर्डमा सुधार ल्याउनु पनि ठूलो कुरो हो ।” एक दर्जनभन्दा बढी खेलाडीलाई पछि पारेर आफ्नो खेल सुधार गर्नु पनि खेलाडीले जित सम्झनुपर्छ भन्ने उनको धारणा छ । मुलुकको राजनीतिक अस्थिरताको असर खेल जगत्मा पनि परेको बताउँदै उनले दीर्घकालीन तालिम/प्रशिक्षण, खेल सामग्रीको उचित व्यवस्थापनलगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । “खेलाडीहरु ‘वाइल्ड कार्ड’को सहारामा ओलम्पिक खेल्ने अवसर पाएर हुँदैन,” उनले भने– “खेलाडीले छनोट चरण पार गरेर गएपछि पदकको आशा बलियो रहन्छ ।” रियो ओलम्पिकमा नेपालबाट पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक खेलमा बक्सिङ खेलको लोकप्रियता रहेको भए पनि सन् १९८८ यता नेपाली मुक्केबाज सहभागी हुन सकेका छैनन् । यसरी बनाए रेकर्ड मुक्केबाज सिंह भीमदत्तनगरस्थित कक्षा ८ मा पढ्दै गर्दा भीमदत्तनगरमा पहिलो पटक २०४० सालमा बक्सिङको प्रशिक्षण सुरु भयो । राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई मध्य तथा सुदूरपश्चिमको बक्सिङ प्रशिक्षण केन्द्र भीमदत्तनगर बनाएर प्रशिक्षणमा खटायो । “यहाँ जुनसुकै खेल भए पनि सिक्छु भन्ने थियो,” बक्सर सिंहले भने – “घरमा जानकारी नै नदिएर खेल सुरु गरेँ ।” धरानमा २०४० सालमै भएको प्रतियोगितामा जाँदा मात्रै घरकाले थाहा पाएँ । त्यसपछि २०४० सालदेखि बक्सिङमा आबद्ध भएका सिंह प्रशिक्षणको चार वर्षको छोटो अवधिमा ओलम्पिकसम्मको यात्रा तय गर्न सफल भए । “ओलम्पिकबाट फर्किएपछि सहायक प्रशिक्षकका साथै आव २०४५/४६ सालको नेपालकै सर्वोत्कृष्ट खेलाडी घोषित भएँ,” विसं २०५२ सम्म खेलाडीका रुपमा देश विदेशमा भिडेका सिंहले भने– “खेलमा मेहनत र अनुशासनले निकै महत्व राख्छन् ।” राष्ट्रव्यापी बक्सिङमा आठ पटक च्याम्पियन बन्न सफल सिंहले १२ राष्ट्रियस्तरका प्रतियोगितामा तीन वटा प्रतियोगिता मात्रै आफ्ना लागि पदकविहीन रहेको विगत सुनाए ।  सिंहसँगै सन् १९८८ को सोल ओलम्पिकमा भीमदत्तनगरकै अर्का मुक्केबाज डम्बरदत्त भट्ट पनि सहभागी भएका थिए । बक्सिङ खेलमा विष्णुबहादुर सिंह र डम्बरदत्त भट्ट परिचित नाउँ हो । मुक्केबाज भट्ट भीमदत्तनगरमा बक्सिङ प्रशिक्षकका रुपमा कार्यरत छन् ।