विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको हो ।
बुधबार झापाको अर्जुनधारा नगरपालिका–११ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कको संयुक्त टोलीले चेकजाँचका क्रममा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी छन् । उनीहरुबाट २७ ग्राम ८ सय ३० मिलिग्राम ब्राउन सुगर र बा ४० प ३९९४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–६ का हरीबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सुन्दरहरैचा–५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उदयपुरको बेलका–१ बाट प्रहरी चौकी भागलपुरले स १० प ७८०१ नम्बरको मोटरसाइकलमा सवार चालक चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र पछाडि सवार श्यामकुमार कार्कीलाई १ सय ५५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।