पथरी/ करीब एक वर्षयता पथरीशनिचरे–१ स्थित पथरी बजारका होटलहरुमा यौनजन्य गतिविधि फस्टाइरहेको छ । इटहरीका होटलमा हुने यौनधन्दा रोक्न स्थानीय सङ्घ–संस्था र प्रहरीले अभियान चलाएपछि पेशेवरहरुले पूर्वका पथरी बजारलाई यसका लागि सुरक्षित थलो मान्न थालेका छन् । स्थानीयले यौनजन्य गतिविधि रोक्न प्रहरीलाई पटक–पटक आग्रह गर्दा कहिलेकाहीँ होटल छानीछानी छापा मार्ने गरेको होटल सञ्चालकहरु बताउँछन् । होटलबाट पक्राउ गरिएका जोडीहरुलाई प्रहरीले मुद्दा नै नचलाई कार्यालयबाटै छोड्ने गरेको वाईसीएलका केन्द्रीय सदस्य विजय डाँगी बताउँछन् ।
पथरी बजारको पूर्व–पश्चिम लोकमार्ग सडकको उत्तर र दक्षिणमा सञ्चालित होटलहरुमा गैरकानूनी रुपमा यौनजन्य गतिविधि हुने गरेका छन् । पथरी इलाका प्रहरी कार्यालयका प्रहरीकै संरक्षणमा यौनधन्दा चलिरहेको स्थानीयले आरोप लगाएका छन् । होटल तथा लजहरुमध्ये पथरीका खोटाङे होटल एन्ड लज र पाथीभरा होटल एन्ड लजले युवतीहरु राखेरै यौनधन्दा सञ्चालन गरिरहेको पथरी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश बस्नेतले स्वीकार गरेका छन् । उनले भने, ‘हामीले प्रायः सबै होटलमा छापा मार्ने गरेका छौँ तर यी दुईवटा होटलमा भने कसैले अगाडि नै सूचना दिने गरेकै कारण यौन गतिविधिमा संलग्न पेशेवरहरु उम्कन सफल हुँदै आएका छन् ।’
साँझ भएपछि इलाकाका असइ राजेश खड्काको नेतृत्वमा अन्य प्रहरीहरु पनि दैनिक जसो खोटाङे र पाथीभरा होटलमा रक्सी खाएर होहल्ला गर्दै राति १२ बजेसम्म बस्ने गरेको छिमेकीहरु बताउछन् । रु प्रहरीहरु कहिले सादा पोशाकमा त कहिले बर्दीमै होटलमा रक्सी खाएर यौनजन्य गतिविधिमा सरिक हुने गरेको व्यापारीहरुको आरोप छ । आइतबार र बिहीबार होटलमा यौनजन्य गतिविधि गर्नेहरुको भीड हुन्छ । त्यहाँ यौन गतिविधिका लागि सीमापारिका मान्छे आउने गरेको स्थानीयले बताए । एकपटक यौन सम्पर्क गरेको ५ सयदेखि २ हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको स्रोतले बताएको छ ।
एक महिनाअघि पथरीका होटलमा छापा मार्दा मनिपुरे र किराँत होटलबाट दुई–दुई जोडी पक्राउ परेका थिए । रकम असुलेर उनीहरुलाई प्रहरी कार्यालयबाटै छाडिएको थियो । इन्स्पेक्टर बस्नेतले अरुका श्रीमान्–श्रीमती भएका कारण घरबार नबिग्रियोस् भनेर छाडिएको बताउँदै उनीहरुबाट रकम भने नलिएको दावी गरे ।
पथरी होटल व्यवसायी सङ्घका अध्यक्ष पृथ्वी आले मगरले पथरीका केही होटलमा युवती राखेर यौनधन्दा सञ्चालन गर्ने गरिएको आपूmले पनि सुनेको बताए । ‘कसैले त्यस्तो गरेको छ भने प्रशासनले छापा मारेर कानूनी कारवाही गर्नु प¥यो, हाम्रो सङ्घले पनि त्यसमा सहयोग गर्ने छ’, उनले भने, ‘पथरीशनिचरे नगरलाई नराम्रो नामले नचिनियोस्, राम्रो नामले चिनाउन हाम्रो पनि सहयोग रहने छ ।’