जुम्ला/ यही साउन १३ गते जिल्ला प्रशासन कार्यालय जुम्लाले छाडा कुकुर मार्ने निर्णय गरेयता भुस्याहा कुकुरले ११ पशुचौपायामा क्षति पुर्याएका छन् ।
चन्दननाथ नगरपालिका–३, ७ र ८ का स्थानीयवासीको पशुमा भुस्याहा कुकुरले आक्रमण गरी ११ गाईगोरु मारिसकेको स्थानीयवासी दीपबहादुर मल्लले जानकारी दिए । नगरपालिकाको समन्वयमा प्रशासनले भुस्याहा कुकुरको ठेगान लगाउने भनेपनि तिनले निरन्तर क्षति पुर्याइरहेको स्थानीयवासी मल्लले दुखेसो पोखे । उनले भने, “यसबाट स्थानीयवासीलाई रु डेढ लाखको क्षति भएको छ, तरपनि यो सवाललाई गम्भीरताका साथ सम्बन्धित निकायले लिएका छैनन् ।” कुकुरको आक्रमणबाट स्थानीयवासीले क्षति व्यहोर्नुका साथै उनीहरुमा आतङ्क बढ्दै गएको छ । प्रशासनले कुकुर तह लगाउन खाजे पनि तिनको अत्तोपत्तो हुन नसकेको र कतिबेला घटना घटाउँछन् सो कुरा थाहा हुन नसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घटना घटाएको ठाउँमा प्रहरी पुग्नुपूर्व नै भुस्याहा कुकुर टाढिन थाल्नेभएकाले तिनको व्यवस्थापन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । यो समस्या अहिले चन्दननाथ नगरपालिकाबाहिर देखिन थालेको छ । नगरपालिकाभित्रका स्थानीय तथा प्रहरी प्रशासनले लखेट्न थालेपछि बाहिरी गाविसमा भुस्याहा कुकुरको प्रभाव पर्न थालेको हो ।