शनिश्चरे/अनुभवी पुराना निर्माता केशव भट्टराईले निर्माण गरेको पारिवारिक परिवेशको नेपाली कथानक चलचित्र ‘ब्रासलेट’को प्रचार प्रसारका क्रममा निर्माता र कलाकारको टोली पूर्व आएको छ ।पूर्वमा पत्रकार भेटघाट कार्यक्रम बनाएको टोलीले विहीबार झापाको दमकमा पत्रकारहरुसँग कुरा गर्दै निर्माता केशव भट्टराईले तीजको अवसर पारेर भदौ १७ गते चलचित्र दमक, विर्तामोड, पथरी, धरान लगायत देशका ५५ वटा हलमा प्रदर्शन हुने जनाए । केशवको निर्माणमा ४ वर्षपछि बनेको यो चलचित्र उनको निर्माणको नवौं हो ।
पाथीभरा चित्रमन्दिर दमकका प्रवन्धक चैतन्य वरालको संयोजनका भएको पत्रकार सम्मेलनमा बोल्दै यसका निर्देशक निर्मल शर्मा गैंडाले चलचित्रले परिवारको व्यस्त दैनिकीमा श्रीमान श्रीमतीबीच हातको चुराको रुपमा रहेको ब्रासलेटले कसरी पारिवारिक विचलन ल्याउँछ भन्ने कुरा देखाएको उल्लेख गरे । ‘परिवारमा व्यस्ताको दैनिकीले कसरी भ्रमपूर्ण अवस्था सिर्जना भई परिवार भाँडिन सक्ने कुरा यसमा छ ।’– उनले प्रष्ट्याए । उनले परिवारसँगै बसेर हेर्न समस्या हुने दृष्य राखिने गरेका चलचित्रको विगविगी भएको अवस्थामा नेपाली मौलिक परिवेशसँगै आएका विकृतिलाई शालिन तरिकाले प्रस्तुत गरी सवै परिवार एकैठाउँ बसेर हेर्ने यसले निम्तो दिएको दावी गरे । मुख्यत हाँस्यव्यंग्य क्षेत्रका कलाकारको परिचय बनाएका शर्माले यसअघि सन्देशमुलक चलचित्र ‘चकलेट’को निर्देशन गरेका थिए भनें व्यवसायिक चलचित्रको निर्देशन भने यो नै पहिलो हो ।
कार्यक्रममा, नेपाल चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन र प्रसिद्ध निर्माता छविराज ओझाले अनुभवी र नेपाली चलचित्रको गुणस्तरमा चिन्ता गर्ने निर्माताले बनाएको ब्रासलेट राम्रो र व्यवसायिक सफल चलचित्र बन्ने आशा व्यक्त गर्दै शुभकामना दिएका छन् ।
नायक रमेश उप्रेतीले आफ्नो ७ वर्षपछिको चलचित्र यात्राका लागि ब्रासलेट ‘कमव्याक डेब्यू’ भएको जनाए । उनी अमेरिका बसाईपछि नेपाल आएको बेलाको यो पहिलो चलचित्रले उनका लागि नयाँ दर्शकका लागि आफ्नो डेब्यु नै हुने जनाए । १५ वटा म्यूजिक भिडियोमा अभिनय गरेका दमककै नव नायक सुगम गुरागाईको यो पहिलो चलचित्र हो । अभिनयमा रुची र केही गर्ने सम्भावना बोकेका उनलाई नाताले मामा केशवले डेब्यू गर्ने अवसर दिए । अर्थात उनी सहनायकका रुपमा चलचित्रमा देखिनेछन् । चलचित्रमा रजनी केशी, नम्रता सापकोटा, नीर शाह लगायतको अभिनय रहेको छ । चलचित्र ०७२ वैशाखमा महाभूकम्पको समयमा सुटिङ भए पनि यसलाई प्रदर्शनमा ल्याउन केही ढिलो भएको हो ।