गौशाला/ दिनानुदिन लगातार बढ्दै गएको गर्मीका कारण महोत्तरी जिल्लामा भाइरल ज्वरोको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । चर्को घामका कारण असहनीय गर्मी र फाट्फुट रुपमा पर्ने गरेको पानीका कारण अहिले महोत्तरीको घरघरमा अहिले भाइरल ज्वरोका बिरामी देखिन थालेको जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा मनिष पाण्डेले बताए। त्यस्तै, डा राजीव झाका अनुसार अहिले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराउन आउने बिरामीमध्ये ८० प्रतिशत बिरामी भाइरल ज्वरोका रहनेगरेका छन् । अर्का डा सतिश साहका अनुसार अहिले भाइरल ज्वरोका साथै जिल्ला अस्पतालमा रुघा, खोकी, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ । चिकित्सकका अनुसार अहिले जिल्लाका प्रत्येक घरका औसत दुई÷तीनजना व्यक्ति भाइरल ज्वरोको चपेटामा परेका छन् । गर्मी र पानीबाट प्रभावित भएर जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला अस्पतालमा अहिले दैनिक २०० देखि २५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० जनासम्म बिरामी उपचारका लागि आउने गरेको चिकित्सकले बताएका छन् । तीमध्ये ८० प्रतिशत बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको चिकित्सक बताउँछन् । गर्मीका कारण जिल्लाका विभिन्न गाउँठाउँमा अहिले रुघा, खोकी, ज्वरो, टाइफाइड, पखाला, निमोनिया र भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा निक्कै वृद्धि भएको चिकित्सक बताउँछन् । मौसममा भएको परिवर्तनस्वरुप आएको असहनीय गर्मी र अनियमित वर्षाका कारण जिल्लाका बुढापाका र बालबालिका बढी प्रभावित भएका छन् भने सबै उमेर समूहका व्यक्ति बिरामी भएको चिकित्सकले बताएका छन् ।