इटहरी/ पूर्वेली लोक भाकाका पारखी नविन खड्का र पुस्तका खड्का स्वरमा विहीबार इटहरी चौकमा जम्मा भएका दर्शकले आनन्द लिए । उदाउँदै गरेकी पूर्वकै लोक गायिका अञ्जु गौतमको तीज गीत ‘बरिलै एल्वम’ को विमोचन गरे पछि खड्का द्वयले आफ्नै भाका घन्काए ।
अरुण उपत्यकालाई लोक भाकामा स्थापित गराउन सफल उनीहरुको लोक भाकामा ननाच्ने कमै देखिए ।इटहरीको धरानलाईनस्थित गोरखा डिपार्टमेन्ट अगाडी भएको कार्यक्रममा दर्शकको बाक्लो उपश्थीति थियो ।
कार्यक्रममा गायिका अञ्जुले आफ्ना गीतबाट तीजको माहौल बनाइन् भने अन्य कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाए । अञ्जुको स्वर र लोक भाका मार्फत पूर्वेली संस्कृतिको विकासमा महत्वपूर्ण योगदान भएको भन्दै गायक बालकृष्ण कार्कीले अञ्जुको उपश्थितीले पूर्वेली लोक भाकामा थप उर्जा मिलेको बताए । महिला सञ्जाल इटहरीको संयोजन गरेको सो कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्रा. डा. बद्रीविशाल पोख्रेल, इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा निलम ढुङ्गाना, ज्योति खड्कासहित माउन्ट मकालु विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । गायिका एवम् सञ्चारकर्मी चन्दा खड्का र सरोज खड्काले कार्यक्रम सञ्चालन गर्दा दोहोरी गजलले पनि कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण भएको थियो ।