विराटनगर/सर्वसाधारणलाई सुलभ उपचार सेवा प्रदान गर्ने जिम्मेवारी रहेको विराटनगरको कोशी अञ्चल अस्पतालमा रगत परिक्षणसमेत हुन छोडेको छ । अस्पतालको ल्यावमा रगत परिक्षण गर्ने सिबिसि मेसिन एक महिना भन्दा बढी समयदेखि बिग्रिएको छ । अस्पतालले त्यसको मर्मत गरी प्रयोगमा ल्याउन चासो नदिँदा सर्वसाधारणले महंगोमा अस्पताल हाता बाहिर भएका निजी ल्यावमा रगत परिक्षण गराइरहेका छन् ।
सिबिसि मेसिनबाट रगतको जेनेरल प्रकृतिका सबै परिक्षण गरिन्छ । हेमोग्लोविन, प्लेटलेट, डब्ल्युबिसि, आरबिसि लगायत अनेकौं जाँच सोही मेसिनबाट गरिने हुँदा मेसिन बिग्रिएपछि अस्पताल अस्तव्यस्त नै बनेको छ । अस्पतालका डाक्टर सुधिर श्रेष्ठले भने ‘अस्पतालमा ल्याव टेष्ट गर्नेमध्ये ९० प्रतिशत परिक्षण सिबिसि मेसिनमै आधारित हुन्छ । त्यसको अभावमा एक स्टेप पनि उपचार अघि बढ्दैन । यस्तो बेलामा मेसिन बिग्रिदा समस्या भएको छ ।’ कोशी अञ्चल अस्पतालले यस अघि अस्पतालमा हुने परिक्षण अस्पतालमै गर्नुपर्ने भन्दै बाहिरको परिक्षण रिपोर्टलाई मान्यता दिएको थिएन । अहिले मेसिन बिग्रिएपछि वाध्यता आइलागेको र यसले कमिसनखोर प्रवृति बढाउन सक्ने भन्दै चिकित्सकहरुले चिन्ता गरेका छन् । मेसिन बिग्रिएको एक महिना भइसक्दा पनि मेसिन बनाउने तर्फ अस्पतालले ध्यान दिएको छैन । वरिष्ठ मेडिकल टेक्नोलोजिष्ट मुनरलाल यादव अस्पताल प्रशासनले जानीजानी मेसिन नबनाएको भन्दै आक्रोश पोखे । उनले भने ‘म एक महिनादेखि कराइरहेको छु मेरो कुरा कसैले सुन्दैन । मेसिन बनाउने मेकानिक बोलायो एकाउन्ट शाखाले मर्मत खर्चको जिम्मा लिन्न भन्दै फकाइदिएपछि महिना दिनदेखि मेसिन थन्किएको छ ।’ सिबिसि मेसिन बिग्रिएपछि मर्मत गर्ने मेकानिक पनि अस्पतालले भेटेको छैन । नियमित मर्मत गर्ने व्यक्तिले पहिले काम गरेको ५० हजार रुपैंया लामो समयदेखि भूक्तानी नपाएपछि उसले पुरानो बिल भुक्तानी पछि मात्र काम गर्ने भन्दै पन्छिएको छ । जसले गर्दा उपकरण मर्मतको काम रोकिएको हो । अस्पतालका डाक्टर सुधिर श्रेष्ठले भने ‘अस्पतालमा नभइनहुने मेसिन सिबिसि हो । ५० हजार तिर्नुपर्ने भए त्यो सो मेसिनले एकै दिनमा आम्दानी गर्छ । एक दिनको आम्दानी खर्च नगर्दा अहिले लाखौं नोक्सानी भइसकेको छ । ’ अस्पतालमा रगत परिक्षण हुन छोडेपछि अस्पताल भित्र दलालहरुको प्रवेश तिब्र बनेको छ । बाहिर ल्याव संचालन गरेर बस्ने स्वास्थ्यकर्मीहरुले दर्जनौं प्रतिनिधि अस्पताल भित्र पठाएका छन् । उनीहरुको हातमा इन्जेक्सनको प्याकेट हुन्छ र उनीहरु बिरामीको वेडमै पुगेर आफ्नो ल्यावमा परिक्षण गराउनकालागि मोलमोलाई गरिरहेका भेटिन्छन् । अस्पतालमा सहयोगीको काम गर्दै आएका अशोक मण्डलले भने ‘अहिले अस्पतालमा हाटबजारमा बाख्रा किनबेच गर्ने जस्तै दलालहरु मात्र भेटिन्छन् । मेरो ल्यावमा जाँच गराउँ सस्तोमा गराइदिन्छु भन्नेहरु जताततै छन् ।’ सिबिसि मेसिन संचालनमा रहँदा रगत परिक्षणबाट दैनिक ८० देखि ९० हजार रुपैंया आर्जन गर्दै आएको कोशी अञ्चल अस्पताललाई एक महिनाको अवधिमा झण्डै २० लाख नोक्सानी भइसकेको छ । ठूलो संख्यामा विकास समिति मार्फत कर्मचारी र स्वास्थ्यकर्मी नियुक्त गरेर अस्पताल सञ्चालन गर्दै आएको यस्तो संस्थामा यति ठूलो रकम आम्दानी गुमेपछि संचालन खर्च धान्न समस्या हुन्छ । त्यसप्रति कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले चिन्ता गरेका छन् । अस्पताल प्रशासनका अधिकृत नबराज लुइटेलले मेसिन बिग्रिएको जानकारी आएपछि मर्मतकालागि पहल भएको र दुई दिन भित्रमा मेसिन मर्मत हुने जानकारी दिए । कोशी अञ्चल अस्पतालमा दैनिक १ हजार ५ सय बिरामी उपचारकालागि आउने गरेका छन् । सस्तो तथा सरकारी सुविधा प्राप्त हुने भएकोले विराटनगरवासी तथा विभिन्न जिल्लाबाट उपचारकालागि अञ्चल अस्पतालमा आउने गरेका छन् ।