
ताप्लेजुङ / बुधबार दिउँसो ताप्लेजुङ सदरमुकामका दुई फरक स्थानमा बाल अधिकारको विषयमा औपचारीक कार्यक्रमहरुमा ठूला ठूला भाषण भईरहदा सदरमुकाममानै सिकैचा गाविसका कुलबहादुर लिम्बु भने आफ्नो ११ वर्षको छोराको हत्या भएको तर आफुले न्याय नपाएको भन्दै प्रशासन र मानवअधिकारकर्मीहरुलाई गुहारी रहेको थिए ।
आर्थिक अभावमा गोठ बसेको ११ वर्षीय छोरा सुखहाङ लिम्बुले झुण्डिएर आत्महत्या गरेको भनि थप अनुसन्धान नै नगरी सब आफुलाई बुझाएको र घटनाको विषयमा प्रहरी प्रसासन गम्भिर नभएको भन्दै कुलबहादुरले प्रशासन मार्फत मन्त्रिपरिषद समक्ष बुधबार निवेदन समेत दिएका छन् ।
“परिवारको दुख देखेर घर परिवारलाई सघाउन छोरा आम्बेगुदिन गाविस ६ का गंगाप्रसाद भट्टराईका छोराहरु नैनबहादुर र खगेन्द्र भट्टराईसँगै सिकैचा १ को ढाडे भन्ने गोठमा काम गथ्र्यो, अकस्मात भदौ १४ गते छोराले झुण्डिएर आत्महत्या ग¥यो भन्ने खबर आयो, प्रहरीले पनि सामान्य रुपमा आत्महत्यानै भनेर अनुसन्धान गरेन तर त्यति सानु छोराले किन आत्महत्या गर्छ यो आत्महत्या हैन हत्यानै हो” मृतकका बुबा कुलबहादुर भन्छन् ।
आफुले घटना पश्चात मृत्यू संकास्पद भएको भन्दै छोरासँगै गोठमा बस्ने माथि अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा निवेदन दिदा निवेदन समेत दर्ता नगरेको उनले गुनासो गरे । आज बाल दिवस बालबालिकाको अधिकारको विषयमा यत्रो कार्यक्रम रहेछ तर मेरो छोराले अकालमा ज्यान गुमाउनुप¥यो यो विषयमा कस्ले बोल्ने ?–गहभरी आँसु पादै कुलबहादुरले भने । घट्ना पश्चात गोठमानै बस्ने नैनबहादुर भट्टराईलाई प्रहरीले अनुसन्धानका लागि ल्याए पनि केहि समयमानै छाडेको र घटना हत्या नभई आत्महत्यानै भएको भन्दै प्रहरीले अनुसन्धानमा ध्यान नदिएको उनको गुनासो छ ।

यस अघि पनि छोराले आफु र अन्य गोठाला सँग पनि नैनबहादुर र खगेन्द्रले काम राम्रो नगरेको गोठमा चोरी गर्ने गरेको आरोपमा आफुलाई बारम्बार हप्काउने र कुट्ने गरेको बताउने गरेकाले पनि घटना संकास्पद भएको उनले बताए ।
आफुले छोराको पोष्टमाटम रिपोर्ट समेत नपाएको बताउने कुलबहादुरले मानव अधिकार आयोगको केन्द्रिय र क्षेत्रिय कार्यालय, गृह मन्त्रालय, प्रधानमन्त्रि कार्यालय, राजनितिक दल सबैलाई न्याय गराईदिन पनि आग्रह गरेका छन् ।
यता ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केशीले झुण्डिएको अवस्थामा फेला परेका बालकको शरिरमा अन्य चोटपटक नभएको र कुटपिट भएको देख्ने वा हत्या भएको देख्ने कोही नभएको साथै हत्या भएको जस्तो प्रकृति नदेखिएको बताए ।
मृतक बालकसँगै बस्ने नैनबहादुर भट्टराईलाई यस अघि अनुसन्धानका लागि ल्याईएको र अहिले तारिकमा छुटेकाले अनुसन्धान अझै जारी रहेको प्रहरी प्रमुख केशीले बताए ।
मृतक बालक भदौ १४ गते बेलुका करिव ५ बजे गोठ नजिकै असारेको विरुवामा भित्तामा लत्रिएर झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको प्रकृति हेर्दा घटना संकास्पद भए पनि प्रमाण नहुँदा अनुसन्धानमा समस्या भएको प्रहरी प्रमुख केशीले बताए ।
घरको आर्थिक अबस्था कमजोर भएका कारण ताप्लेजुङका हिमाली क्षेत्रका गोठहरुमा अझै पनि दर्जनौ बालबालीका काम गरिरहेको अवस्थामा भेटिन्छन् ।