धरान/आइतबार साढे १२ बजे नेपाल टेलिकम धरान शाखाका प्रमुखको कार्यकक्षमा पुग्दा कोठा ह्वाङ्गै थियो । बाहिर हाकिम भित्र वा बाहिर भएको जनाउ दिने सूचना पाटीमा भने ‘भित्र’ भनेर लेखिएको थियो । तर कार्यालय प्रमुख सञ्जीव घिमिरे कार्यकक्षमा थिएनन् । कर्मचारीहरुसँग बुभ्दा उनी सूचना तथा सञ्चारमन्त्री राम कार्की प्रमुख अतिथि रहेको धनकुटास्थित नाम्जेको कार्यक्रममा सहभागी हुन हुइँकिएका रहेछन् । telicom (2)(1) लेखा अधिकृत भवानी निरौलासमेत भेटिएनन् । उनको कार्यकक्ष पनि उस्तै अवस्थामा भेटियो । एक दिनको छुट्टीमा गएको कुरा प्रशासनतर्पmका सहायक व्यापार अधिकृत गणेश निरौलाबाट थाहा भयो । हाकिमसमेत सञ्चारमन्त्रीको कार्यक्रममा गएको उनले पुष्टि गरे । कार्यालय प्रमुख घिमिरेले आधिकारिक पत्र आएको र विभागअन्तर्गतकै कार्यक्रम रहेकोले आपूm कार्यक्रममा पुगेको बताए । ‘हाम्रो विभाग भएको र निमन्त्रणासमेत आएकाले कार्यक्रममा गएको हो ।’

एडीएसएल सेवामा सेवाग्राहीलाई सास्ती

एडीएसएल सेवाको गुनासो लिएर धरान–१७ की सङ्गीता लिम्बू टेलिकम धाएको पाँचपटक भइसक्यो । त्यै पनि हालसम्म उनले सेवा पाएकी छैनन् । उल्टै राउटर बिग्रिएको र तारमा गडबडी भएको वा जोडाइमा समस्या आएको भन्दै कर्मचारीहरुबाटै खप्की खाइन् । १२ दिनमा धरान–१९ की इसु राई चारपटक टेलिकम पुगिसकिन् । राउटर नै बोकेर उनी टेलिकम पुगे पनि काम बन्न सकेको छैन । ‘यहाँ ठीकै छ भनेर भन्नुहुन्छ । उता लगेर चलायो, चल्दै चल्दैन’, उनले भनिन्, ‘आजसम्म चारपटक आइसकेँ ।’ इन्टरनेट नचलेको भन्दै टेलिकम पुग्नेहरुको सङ्ख्या अहिले दैनिक ५० भन्दा बढी हुने गरेको कर्मचारी स्वयम् बताउँछन् । ‘चट्याङ परेको बेला त त्यसभन्दा धेरै आउँछ ।’ कर्मचारी भन्दै थिए ।टेलिकमले एडीएसएल सेवा दिए पनि समयमा मर्मत नगरिदिँदा सास्ती पाउनेमध्येका धरान–७ का गोकर्ण सुवेदीसमेत हुन् । उनले दुई महिनाअघि नै एडीएसएल बन्द गराएका छन् । भन्छन्, ‘महिनामा सात दिनसम्म पनि मुस्किलले नेट आउँछ । मर्मतको लागि भन्यो सुनुवाइ नै हुँदैन । त्यै भएर अहिले बन्द नै गराइदिएँ ।’ एडीएसएल सेवाबाट सास्ती पाउने उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । टेलिकमकै कर्मचारीका अनुसार मर्मत र चुस्त सेवा दिन कसैलाई चासो हुँदैन । ‘हाकिमलाई डुल्दा नै ठीक छ । अरुलाई मतलब हुँदैन’, तल्लो तहका एक कर्मचारीले नाम नछाप्ने शर्तमा भने, ‘सेवाग्राहीहरुले पटकपटक भन्दासमेत वास्ता गरेको पाइँदैन ।’ एडीएसएलमा गुनासो आउने कुरा भने प्रमुख घिमिरेले स्वीकारे । एडीएसएलमा पनि रिचार्जमा आउने समस्याको समाधान शाखाबाट हुन नसक्ने भएकाले केन्द्रीय कार्यालयबाट काम हुन केही समय लाग्ने बताए । तर अन्य कार्यहरुमा समयमै मर्मत–सम्भार गरिरहेको उनले दावी गरे ।
उनले फोन सम्पर्कमा भने । लेखा अधिकृत निरौला ‘क्याजुअल बिदा’ लिएर बसेको उनले स्पष्ट पारे । भित्र–बाहिर भनेर लेखिएको सूचनाका विषयमा भने केही कमजोरी भएको उनले स्वीकारे । आकस्मिकबाहेक बिदामा बस्दा बिदा फारम भर्नुपर्ने अनिवार्य शर्त हो तर उनले फारम भरेर बिदामा बसेको–नबसेको भन्नेबारे अधिकृत निरौलालाई जानकारी थिएन किनकि उनीसमेत केही दिन तालिमका कारण बिदामा थिए । सरकारले टेलिकमका कर्मचारीको हकमा क्याजुअल बिदा ६ दिन दिने गरेको छ तर अधिकांश समय उनी बाहिर रहेको स्रोत बताउँछ । प्रमुख घिमिरेले भने यो कार्यालयमा आएपछि उनले अहिलेसम्म ‘क्याजुअल बिदा’ लिएको पहिलोपल्ट भएको र सदैव कार्यालयमै रहने बताए । ‘सधैँ भन्ने कुरा गलत कुरा हो ।’ उनले भने । स्रोतका अनुसार प्रमुख घिमिरेले बा. १ झ ७६८५ नम्बरको गाडीसमेत दुरुपयोग गर्ने गरेका छन् । उनले सो सरकारी गाडी छोराछोरीलाई बोर्डिङ स्कुल पु¥याउँदासमेत प्रयोग गर्ने गरेको कर्मचारी स्रोतबाटै जानकारी आएको छ । विद्यालय र उनको कोठाको दुरी करीब ६–७ सय मिटर वरपरमै पर्छ । कतिसम्म भने सेवाग्राहीहरु गुनासो लिएर कार्यालयमा पुग्दासमेत उनी भेटिँदैनन् । धरान–७ का सेवाग्राही गोकर्ण सुवेदीले कर्मचारी र हाकिमको मनोपोली रहेको बताए । उनले सेवाग्राहीलाई मतलब नै नगर्ने प्रवृत्तिसमेत रहेको जनाए । उनी भन्छन्, ‘सर्वसाधारणले त उहाँहरुसम्म पुग्नै पाउँदैन ।’ उनले कर्मचारीबीचको आन्तरिक मामला नमिलेको कारण जनता एकदमै पीडित भएको गुनासो गरे । प्रमुख घिमिरे भने कहिलेकाहीँ आकस्मिक रुपमा र पानी परेको अवस्थामा गाडी प्रयोग गरेको हाकाहाकी स्वीकार्छन् तर सधैँ दुरुपयोग गर्ने कुरा हावादारी भएको उनको भनाइ छ ।