राजविराज / विजया दशमीको पहिलो दिन शनिवार सप्तरीमा विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुले भब्यतापुर्वक पुजा आजा गरेका छन् । पूर्वाञ्चलकै प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा पूजाआजाका लागि नेपाल तथा भारतका भक्तजनहरुको दिन भरी नै घुईचो लागेको छ । यस पटकको दशैंमा घटस्थापना अगाडी देखि नै भक्तजनहरु उल्लेख्य संख्यामा आएको जानकारी दिदै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले दशैं भरीमा ५० लाख जति भक्तजनहरुले मन्दिरमा आएर दर्शन गर्ने वताए । उनले दशैंका लागि मन्दिर परिसर सरसफाई, रंगरोगन, शौचालय निर्माण, पिउने पानीको ब्यवस्था लगायतका कामहरु सम्पन्न भएको वताउँदै यस पटक मन्दिरसम्म पुग्नका लागि सडकको जिर्णोद्धार समेत भएकोले भक्तजनहरुको संख्यामा वृद्धि भईरहेको दावी गरे । मन्दिरका पीठाधिस महाकान्त ठाकुरले वाहिरवाट आएका भक्तजनहरुको लागि वसोवासको समेत ब्यवस्था मिलाईएको जानकारी दिए । यसैगरी भारदहस्थित कंकालनी मन्दिरमा समेत वाहिरका श्रद्धालु भक्तजनहरु उल्लेख्य संख्यामा आउन थालेको मन्दिरका पुजारी चन्द्रकान्त भारतीले जानकारी दिएका छन् । महानवमीका दिन राँगाको वलि दिइने परम्परा रहेको मन्दिरमा यस पटक एक हजार भन्दा वढि राँगाको वलि दिईने मन्दिर ब्यवस्थापन समितिका सचिव लक्ष्मण मण्डल बताए । राजविराज ९ स्थित राजदेवि मन्दिरमा पनि शनिवारदेखि दर्शनका लागि पुगेका भक्तजनहरुको संख्या वढेको मन्दिरका पुजारी भोला चौधरीले जानकारी दिएका छन् । उनका अनुसार मन्दिरभित्र असारदेखि रसाएर जम्मा भएको पानी दशैं सुरु भएपछि ढोल (दशैंमा वजाईने वाजा) वजाउन शुरु भए लगत्तै पानी पनि क्रमशः घटदै जाने गरेको छ । जिल्लाको शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिर, राजविराज १ स्थित भगवती मन्दिरमा पनि विहानैदेखि भक्तजनहरु उल्लेख्य संख्यामा आएर पुजाआजा गरेका छन् ।