धरान/ सामाजिक सञ्जालहरुले नवआगन्तुकलाई स्थान दिएका मात्र छैनन्, प्रचारप्रसार गर्ने सजिलो माध्यम पनि बनेका छन् । सकारात्मक सोच राखेर काम गर्नेहरुका लागि सामाजिक सञ्जाल बरदान सावित भएका छन् भने नकारात्मक सोच राखेर यी सञ्जाल प्रयोग गर्नेहरु हिरासतको कालकोठरी पनि पुगेका छन् ।
गएका एकाध वर्ष यो सञ्जाल मात्र हैन, युट्युब नवआगन्तुकको लागि ‘प्लेटफर्म’ बन्दैगएको छ । अहिले बजारमा चल्तीका गीतहरु आउँदा ती गीतमा डान्स गर्दै भिडियो अपलोड गरेर चर्चा कमाउने गरेका छन् ।यसको नमूनाको रुपमा काठमाडौंको कार्टुन क्रिउलाई लिन सकिन्छ । एक वर्ष अघिदेखि युट्युबमा छाएको क्रिउले राष्ट्रमा मात्रै हैन, अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेको छ । उसले एक वर्षअघि अपलोड गरेको ‘पानी प¥यो’ बोलको कभर सङले यो समूह चर्चाको पात्र मात्र बनेन, यल्टीको हकदार बनेको छ । उक्त गीत ४४ लाखभन्दा बढीले हेरेका छन् भने २९ हजारले त लाइक मात्रै गरेका छन् ।
कभर सङमा यस्ता समूहहरुको आगमन बढोत्तरी छ । अहिले देशमा मात्र हैन, विदेशमा समेत कभर सङ बनाएर युट्युब, फेसबुकमा अपलोड गर्ने चलन बढ्दो छ । जसबाट उनीहरुले गज्जबको प्लेटफर्म प्राप्त गर्ने गरेका छन् ।‘पारी त्यो डाँडामा’ गीतको कभर सङ दार्जिलिङमा समेत भेट्यौं’, हाम्रो डान्स सेन्टरकी नृत्य शिक्षक सन्ध्या श्रेष्ठ भन्छिन्, ‘पछिल्लो समय चलेका गीतमा कभर सङ बनाउनेको लहड नै चलेको छ ।’ मनोरञ्जनको लागि गरिने यस्ता कभर सङले उनीहरुलाई पहिचान पनि दिएको छ । कार्टुन क्रिउ त्यसैको उदाहरण हो । यही क्रिउले एक महिनाअघि ‘नीरा जहिले रिसाउने’ अपलोड गरेको थियो । उक्त गीत १६ लाख हाराहारीले हेरिसकेका छन् । ‘युट्युबमा पाएको चर्चाकै कारण एनसेल मेलामा कार्टुन क्रिउ देशभर हिँड्न पायो’, गरिमा डान्स सेन्टरका नृत्य निर्देशक मणिकुमार लिम्बू भन्छन् । उनका अनुसार छिटो चर्चा कमाइने र नयाँको लागि प्लेटफर्मसमेत हुने भएकाले कभर सङ बनाउँदै अपलोड हुने गरेको छ ।व्यक्ति–व्यक्तिहरुले समेत कभर सङ बनाउँदै युट्युबमा अपलोड गर्ने गरेका छन् ।
‘पानी प¥यो’ र ‘नीरा जहिले रिसाउने’ गीतको सबैभन्दा बढी कभर भिडियो निर्माण भएका छन् । विशेष गरेर चल्तीका गीतहरुमा बढी कभर सङ बन्ने गरेको छ । जस्तो ‘पानी प¥यो, नीरा जहिले रिसाउने, पारी त्यो डाँडामा, सेल्फी हानौंला’ बोलका गीतहरुमा धेरैजसो कभर भिडियो बनेका छन् ।‘नीरा जहिले रिसाउने’ कभर सङको लागि अहिले सिनेमा आर्ट नेपालले युट्युबमा प्रतिस्पर्धा नै गरिरहेको छ । केही दिनअघि प्रतिस्पर्धाको लागि युट्युबमा खुल्ला गरेको थियो ।
जहाँ ३३ वटा कभर सङ प्रतिस्पर्धाका लागि पुगिसकेका छन् । जाने क्रम जारी छ । मङ्सिरमा फाइनल तोकिएको उक्त प्रतिस्पर्धामा पुरस्कार राशिमात्रै १ लाख ५० हजार रुपैयाँ राखिएको छ । अहिले युवामात्रै हैन, बच्चाहरुमाझ यो गीत निक्कै चर्चामा छ । नृत्य सिकिरहेका बालक प्रज्ज्वल राई भन्छन्, ‘यो गीत शुरुमा स्कुलमा नाँचेको थिएँ ।’ पानी प¥यो, पारी त्यो डाँडामा बोलको गीत लगाउने बित्तिकै युवा पुस्ता नाँच्न थालिहाल्ने अनुभूति नृत्य शिक्षक श्रेष्ठको छ ।नयाँहरुको लागि कभर सङको भिडियो चर्चाको अस्त्र बन्ने गरेको छ । कभर सङको भिडियो बनाउने प्रचलन धेरै भएको छैन ।
एकाध वर्षमात्रै भएको छ । यसअघि गीतहरुको अडियोमा कभर सङहरु निर्माण हुन्थे । तर, भिडियोहरु निर्माण हुन थालेको धेरै नभएको नृत्य निर्देशक लिम्बू बताउँछन् । छिटो चर्चा र आप्mनो विज्ञापन गर्ने थलो बनिरहेको चालिसको दशकदेखि नृत्य शिक्षकको रुपमा रहेका मणि राई बताउँछन् । ‘एल्बम निकाल्दा महङ्गो हुन्छ । त्यो पनि गीत चल्ने÷नचल्ने फिक्स हुँदैन’, उनी भन्छन्, ‘यसरी बनाउँदा सस्तोमा बन्ने र सजिलै अपलोड हुने हुँदा यतातिर युवापुस्ताको ध्यान गएको हो ।’