इटहरी / बैदेशिक रोजगारमा जाने युवाहरुलाई सीपयुक्त बनाउन नेपाल सरकार, स्वीस विकास नियोग र हेल्भेटास संस्थाको सहयोगमा विभिन्न ९ विषयमा ३० दिने प्याकेजमा तालिम संचालन गरेको छ । एफ स्कील प्राली काठमाण्डौको संयोजनमा काठमाण्डौ र सुनसरीमा पहिलो चरणमा २ हजार युवालाई तालिम संचालन गरिएको हो ।
सुनसरीमा पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युट इटहरीले तालिम संचालन गरिएको छ । विदेश जानका लागि पासपोर्ट बनाएर बसेका सुनसरीका १३ बेरोजगार युवाहरुलाई मेसनको तालिम दिईएको थियो । दोश्रो लटमा यही कार्तिक २८ गतेदेखि प्लम्वीङ र स्टील फिक्सर विषयमा तालिम संचालन गर्न लागिएको संस्थाका प्रवन्ध निर्देशक कृष्ण शाहले जानकारी दिए । ४० जनाको लागि तालिम संचालन गर्न लागिएको संस्थाले जनाएको छ । सुनसरीका ४ सय युवाहरुलाई तालिम दिने शाहले जानकारी दिए । तालिम लिनका लागि सम्पर्क गर्न संस्थाले ०२५–५८७०४७ हट लाईन नं पनि सार्वजनिक गरेको छ ।
तालिम अवधीभर खाना बस्नको समेत निशुल्क प्रवन्ध गरिएको र तालिमका लागि कुनै शुल्क पनि तिर्न नपर्ने कार्यक्रम संयोजक माधव पौडेलले जानकारी दिए । विदेशमा जाने युवाहरु विना सीप जादा विदेशमा भने जस्तो काम नपाउने र तालिम विना विदेश गएकाहरु सीप अभावमा काम नपाउने समस्या भए पछि सरकारले यस्ता युवाहरुका लागि लगानी गरेको हो ।
हेल्भेटास अन्र्तगत सुरक्षित आप्रावासन(सामी) गैरसरकारी संस्थाले समन्वय गदै आएको उक्त तालिम इलेक्ट्रिसियन, प्लम्वीङ, आल्भूनियम फेव्रीकेटर, गारर्मेन्ट फेव्रीकेटर, जिप्सन जडान, स्काफफोल्डीङ, डकर्मी, सटेरिङ कारपेन्टर गरि ९ वटा विषयमा तालिम संचालन भईरहेको संस्थाले जनाएको छ । तालिममा विदेशबाट फर्केर आएका युवाहरुले समेत सहभागी हुन पाउने बताइएको छ ।