Hospital-logoखोटाङ/ खोटाङ जिल्ला अस्पतालको करोडौंका उपकरण कर्मचारीको मिलोेमतोमा कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन शुरु भएको छ । अस्पतालका भण्डारण शाखाप्रमुख नायब सुब्बा मणिराम ढकाल लगायत केही कर्मचारीको मिलोमतोमा एक सय १२ थान उपकरण २६ हजार पाँच सय रुपैयाँमा लिलाम गरेको खुलासा भएपछि संलग्न कर्मचारीलाई कारबाहीका लागि छानबिन शुरु गरिएको हो ।

अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री गत फागुनमै लिलाम बिक्री गरेको खुलासा भएपछि स्वास्थ्य सेवा विभागका तीन सदस्यीय टोली छानबिनका लागि खोटाङ आएको छ ।विभागका उपसचिव बाबुराम लामिछानेको नेतृत्वमा आइटी इञ्जिनियर पङ्कजकुमार झा र लेखा अधिकृत सीताराम दुलाल लिलाम प्रकरणबारे छानबिन गर्न खोटाङ आएका हुन् । विभागबाट आएको टोली र जिल्ला प्रशासन कार्यालय खोटाङले लिलाममा परेका उपकरण सिलबन्दी गरेर राखिएको ठाउँ पुगेर बिहीबार स्थलगत अनुसन्धान गरेको छ । सोही विषयलाई लिएर शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल भएको छ ।लिलाममा परेका कतिपय उपकरण सिलप्याक नै नतोडिएको फेला परेको अनुसन्धानमा खटिएका प्रशासनका कायममुकायम शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले बताए ।

‘सिलप्याक नतोडिएका कतिपय सामाग्री जफत गरिएको छ’, उनले भने, ‘यस विषयमा हामीले गम्भीर भएर छानबिन थालेका छौं ।’अस्पतालले कवाडी भनेर लिलाम गरेको सबै उपकरण मर्मत गरेर प्रयोगमा ल्याउन सकिने स्रोतले बताएको छ । अस्पताल विकास समितिलाई समेत जानकारी नगराइ करोडौंको उपकरण कवाडीको भाउमा बिक्री गरेको खुलासा भएपछि जिल्लामा विरोध शुरु भएको हो ।कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि सूचना टाँस गरेको पाइएको छ ।

सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरिएको विषयमा कसैलाई पनि जानकारी नदिइएकाले सबैतिरबाट प्रश्न उठेको हो ।अस्पतालले चार थान प्रिन्टर क्यानल, सातवटा कम्प्युटर डेस्कटप, दुई थान प्mयाक्स मेसिन, दुईवटा जेनेरेटर, एक थान फोटोकपी मेसिन, आठवटा स्टेप्लाइजर, एक थान फलामे सेफ, दुई थान यसिका क्यामेरा, एक थान सामसुङ मुभी क्यामेरा, एक थान पानासोनिक रेडियो क्यासेट रेकर्डर, दुईवटा कम्प्युटर टेबल, दुई थान कम्प्युटर कुर्सी, दुई थान कलर टेलिभिजन, दुई थान पोर्टेबल जेनेरेटर, एकवटा पेसेन्ट ट्रली, एकवटा ह्विल चियर, चार थान इसिजी मेसिन, चारवटा एक्स–रे मेसिन, एक थान माइस्क्रोस्कोप लगायतका उपकरण तथा सामान लिलाम बिक्री गरेको पाइएको छ । अस्पताल विकास समितिका सदस्य ज्ञानेन्द्र जोशीले अस्पतालको सामान लिलाम बिक्री भएको विषयमा समितिलाई कुनै जानकारी नदिइएको बताएका छन् ।