मोरङ/ स्वास्थ्य मन्त्रालयको मन्त्रालयस्तरीय अनुगमन टोलीले विराटनगरका २५ वटा क्लिनिक बन्द गराएको छ । अनुगमनको क्रममा नियमविपरीत सञ्चालन भएको भेटिएपछि क्लिनिकहरु बन्द गराएको हो ।अनुगमन टोलीले विराटनगरमा सञ्चालित २५ वटा क्लिनिक बन्द गराउनुका साथै श्री अस्पताल प्रालिको कागजात नपुगेपछि कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । उपस्थित नभए बन्द गर्ने चेतावनी अनुगमन समितिले दिएको छ ।
[caption id="attachment_19480" align="aligncenter" width="850"] फाइल तस्विर[/caption]अनुगमन समितिका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले विनाइजाजत सञ्चालनमा रहेको पाइएपछि क्लिनिकहरु बन्द गराइएको जानकारी दिए ।अनुगमन टोलीले रारा डिजिटल एक्सरे सेवा, गणपति क्लिनिक, ओसिस मेडिकल ल्याब क्लिनिक, सुनसरी ल्याब, हाम्रो प्याथोलोजी डाइग्नोसिस सेन्टर दर्ता नभएको पाइएपछि शिलबन्दी गरेको हो ।
यस्तै पशुपति उपचार क्लिनिक, गणेश अल्ट्रासाउन्ड, मोरङ अल्ट्रासाउन्ड, विराट एक्स–रे, पपुलर क्लिनिक, अमूल्य मेडिकेयर सेन्टर, मुस्कान मेडिकल र कुसुम मेडिकल हललाई लाहाछाप लगाएर बन्द गराइएको औषधि व्यवस्था विभागको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख शम्भु शाहले बताए ।यस्तै टोलीले कोशी क्लिनिक, प्रभात क्लिनिक, सिफा क्लिनिक डाइग्नोस्टिक सेन्टर, द फिजियो केयर, पवित्र मेडिकल हल, न्यु भीम डेन्टल हाउस, फ्याक्टर क्लिनिक, रमेश मिश्रको क्लिनिक, डाक्टर डिपी सिजाल तथा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्टको बोर्ड देखिएको क्लिनिक पनि शिलबन्दी भएको छ । यस्तै जगदम्बा क्लिनिक ल्याब र हेल्पाइन फार्मेसी होम पनि बन्द गराइएको अनुगमन समितिले जनाएको छ । टोलीले सुनसरी ल्याब क्लिनिकलाई सात दिनभित्र कागजातसहित उपस्थित हुन समेत निर्देशन दिएको छ ।
अनुगमनको क्रममा पुगेको टोली देखेर विराटनगरका केही क्लिनिक सञ्चालक तथा औषधी पसलहरु बन्द भएका छन् । अनुगमन टोलीले छापा मार्ने डरले केही क्लिनिक तथा औषधी पसलहरु बन्द भएको साहले जानकारी दिए । अधिकांश क्लिनिकमा ताला लगाएर त्यसमा लाहासहित सिलबन्दी गरिएको छ । नियम अटेर गरेको पाइए कडा कारवाही गरिने जनस्वास्थ्य अधिकृत यादवको भनाइ छ । टोलीले विराटनगरका औषधि पसल तथा क्लिनिकको बुधबारदेखि नै अनुगमन शुरु गरेको हो । दुई सयभन्दा बढी क्लिनिक विनादर्ता सञ्चालन भएको समाचार प्रकाशन भएपछि मन्त्रालयले यादवको संयोजकत्वमा अनुगमन समिति बनाएको हो ।