धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ‘साइन्याप्स २०१६’ सुरु भएको छ ।
साइन्याप्सको स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले उद्घाटन गरे । एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएमएलटी, विएमआइटीलगायतमा अध्ययरत चौथो वर्षका विद्यार्थीहरुको आयोजना हुने साइन्याप्स एकसातासम्म चल्ने छ । साइन्याप्समा नेपालका १५ वटा मेडिकल कलेजका विद्यार्थीहरु सहभागी रहेका छन् । साइन्याप्स उद्घाटन गर्दै मन्त्री गुरुङले मेडिकल कलेजमा अध्ययरत विद्यार्थीहरुबीच गरिने यो कार्यक्रम निक्कै नै राम्रो भएको र यसमा राज्यलेसमेत सहयोग गर्ने बताए ।
साइन्याप्समा विभिन्न खेलकुद, साहित्यिक र डान्स तथा गायन प्रतियोगितासमेत हुने छन् । जस अन्तर्गत शनिबार क्रिकेट सुरु भएको छ । त्यस्तै इन्टर कलेज स्तरीय डान्स तथा गायन प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ । खेलकुदमा फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, चेस, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेलहरु हुने छन् । साहित्यिक तर्फ कविता, निवन्ध, फोटोग्राफी, लघुकथा लेखन प्रतियोगिता नेपाली तथा अङ्गे्रजी भाषामा हुने अध्यक्ष प्रमोदमानसिंह यादवले बताए । कार्यक्रमलाई थप रौनकता बनाउनको लागि चर्चित व्याण्ड १९७४ एडीको प्रस्तुती रहने छ ।
देशभरका ४ हजार विद्यार्थीहरु साइन्याप्समा सहभागी भएका छन् । कार्यक्रममा इन्सिच्युट अफ मेडिसिन, महाराजगञ्ज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्स, कान्तिपुर डेन्टल कलेज, नेपालगञ्ज मेडिकल कलेजलगायतका मेडिकल कलेजका विद्यार्थीहरु सहभागी छन् ।