काठमाडौं  / राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शीतलनिवास पुगेका छन्। उनले विवहा गरेर कोमललाई पत्नी बनाएको स्थानमा आइतबार ५० वर्ष पहिलेको आफ्नै विवाहको सम्झना गरेका छन् । नव दुलाहा(दुलहीलाई शुभकामना दिएर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति समसेर जवरा, कमल थापा, गणेश थापा लगायतका नेताहरुसँग चिया पिउने क्रममा पूर्वराजाले आफ्नो विवाहको सम्झना सुनाएका हुन् ।

ज्ञानेन्द्रका अनुसार आजभन्दा ५० वर्ष पहिले शीतल निवासभित्रै उनी र कोमलवीच विवाह सम्पन्न भएको थियो । आज आफूलाई त्यो दिनको सम्झना आएको पूर्वराजाले कमल थापा लगायतका नेताहरुलाई सुनाए । त्यसो त ज्ञानेन्द्र र कोमल मात्रै होइन, शीतलनिवासबाट तत्कालीन राजा त्रिभुवनका तीनवटी छोरीहरु अर्थात ज्ञानेन्द्रका फूपूहरुलाई समेत अन्माइएको इतिहास छ ।

शीतलनिवास चन्द्रसमशेरका छोरा कृष्णसमशेर जबराको घर हो, । उनले स्वेच्छाले नेपाल सरकारलाई दिएका थिए । त्यसपछि यो ठाउँलाई केही समय परराष्ट्र मन्त्रालय अन्तरगत विदेशीहरुको पाहुना घरका रुपमा पनि प्रयोग गरिएको थियो । अतिथिहरुको शिष्टाचार भेटघाटमा समेत प्रयोग गरिएको यो घरबाट राजा महाराजाहरुले आफ्ना छोरा÷छोरीको बिहे गराउने क्रममै ज्ञानेन्द्र र कोमलको विवाह पनि यही भवनबाट भएको हो ।