‘पूर्वमै साङ्गीतिक क्षेत्रमा केही गर्नुपर्छ भनेर लागिरहेको छु’, केहीदिनअघिको भेटमा गायक भक्तिराज राईले भने, ‘अहिलेसम्म गरिरहेकै छु, तत्काल फलको आशा गरेको छैन ।’ गायक राईले पूर्वाञ्चल सिङ्गीङ कम्पिटिसनको सिजन–४ सम्म चलाइसकेका छन् । ‘युवा गायन प्रतिभा गायन खोजी हाम्रो अभियान’ नारा दिएर उनले पूर्वाञ्चल स्टार प्रतियोगिता गर्दै आएका छन् ।

भन्छन्, ‘यतिका स्पोटसम्म कार्यक्रम चलाउँदा भिरपाखा, गाउँबेसीसम्म गरेको छु ।’ सुरुमा ‘यस्तै हुन्छ पिरति’ एल्वम निकाल्दा बेकार गीत–सङ्गीत क्षेत्रमा हात हालिएछ भन्ने लागेको थियो रे उनलाई । तर अहिले केही आशावादी बनेको उनको कथन छ । पूर्वाञ्चल बागिना कला केन्द्र स्थापना गरेर उनले गीत–सङ्गीतमा झुकाव राख्ने युवायुवतीलाई खोजिरहेका छन् । ‘चर्चा त खासै बटुल्न सकिएन तर यसको नशाले छोड्न सकेको छैन’ गायक राईले भने, ‘पूर्वका कलाकार बन्ने नयाँ पुस्तालाई गीत–सङ्गीत क्षेत्रमा अघि बढ्ने मौका दिएको छु, यसैमा सन्तुष्ट छु ।’सानैदेखि गीतसङ्गीत भनेपछि हुरुक्क हुने उनी थप्छन्, ‘तत्काल फलको आशा नगरेपनि भविष्यमा केही गर्छु भन्ने जोश, जाँगर हराएको छैन ।’

पूर्व क्षेत्रका १६ जिल्लाका गाउँघर–पाखापखेरा चहारिसकेका उनले यस वर्ष पूर्वाञ्चल सिजन–४ चलाउँदैछन् । ‘माघ २२ गते फाइनल कार्यक्रम हुँदैछ, यसको तयारीमा जुटेको छु’, उनले भने । स्टारको पहिलो सँस्करणमा तेह्रथुमका सङ्गम चोङवाङ लिम्बू, दोस्रो सँस्करणमा ताप्लेजुङकी प्रतिभा प्रकृति थलङ लिम्बू र तेस्रो संस्करणमा भोजपुरकी सिर्जना तामाङ विजेता भएकी थिइन् ।धरान–८ स्थित सभा हलमा हुने फाइनलमा प्रतियोगीहरुले एक एक गीत प्रस्तुत गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार, २ वटा गीत रेकर्ड र एउटा म्युजिक भिडियो बनाउने अवसर पाउनेछन् भने एक वर्ष निःशुल्क सङ्गीत सिक्ने अवसर पाउनेछन् ।

यसैगरी, दोस्रो हुने प्रतियोगीले नगद २५ हजारसँगै एउटा गीत रेकर्ड र छ महिना निःशुल्क सङ्गीत सिक्ने अवसर पाउनेछन् । तेस्रो हुनेले नगद १५ हजार र एउटा गीत रेकर्ड गराउन पाउनेछन् भने तीन महिना निःशुल्क सङ्गीत सिक्न पाउनेछन् । यसैगरी, प्रतियोगितामा वेष्ट भोकल, वेष्ट पर्सनालिटी, वेष्ट पर्फमेन्स, वेष्ट पब्लिक च्वाइस, वेष्ट डिसिप्लिनको अवार्ड पनि दिइने छ । ‘पूर्वमा लुकेर रहेका गायन प्रतिभाहरुलाई उजागर गर्ने र अवसर दिने उद्देश्यले कार्यक्रम गर्दै आएको छु’, गायक राईले भने ।