काठमाडौँ/ शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको माग सम्बोधनका लागि राजनीतिक सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् ।
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समिति, २०५५ ले प्रक्रिया पूरा गरी स्थायी गराउन कानुनी प्रबन्ध गरिनुपर्ने मागसहित आज ध्यानाकर्षण गराएपछि मन्त्री पौडेलले शिक्षा ऐन संशोधनका लागि राजनीतिक सहमतिमा पुग्न आवश्यक भएको बताए । विद्यमान ऐनमा विज्ञापन हुने दरबन्दीमा ५० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट प्राथमिकताका साथ अस्थायीलाई स्थायी गरिने र परीक्षामा सामेलन नहुनेलाई तोकिएको सुविधा दिई बिदाइ गर्ने उल्लेख छ ।
मन्त्रीसमक्ष समितिका अध्यक्ष नारायणप्रसाद दाहालले माग पूरा नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने जनाएका थिए । समितिका सञ्चार संयोजक लक्ष्मीकुमारी सत्यालले तीन दिनदेखि केशरमहलस्थित नेपाल शिक्षक महासङ्घमा आफूहरुले सञ्चालन गरेको रिले अनसन जारी रहने जानकारी दिए।
रासस