अमेरिकामा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई महिला विरोधीका रुपमा चिनिन्छ । गायिका तथा गीतकार जोय भिल्ला पनि ट्रम्पको महिला विरोधी छविको कारण सपोर्ट गर्दिनथिन् । तर, आफूलाई महिलावादी तथा जनावरका उत्पादन प्रयोग गरिएका पहिरन प्रयोग नगर्ने बताउने भिल्लाले दुनियाँँलाई ट्रम्पको नारा भएको पहिरन लाएर गतहप्तै चकित पारिन् ।
अमेरिकाको लस एञ्जलस सहरमा भएको प्रतिष्ठित ग्र्यामी अवार्डमा उपस्थित भएकी पच्चीस वर्षीय भिल्लाले ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् ‘अमेरिकालाई पुनः महान् बनाऔं’ भन्ने नारा लेखेको पहिरनमा सजिएर रातो कार्पेटमा उत्रिएपछि उपस्थितहरु छक्क परेका थिए । सेतो, रातो र निलो रंगको उनको परिहनको पछाडि ‘अमेरिकालाई पुनः महान बनाऔं’ भन्ने नारा लेखिएको थियो । अमेरिका तथा संसारभर आलोचित राष्ट्रपति ट्रम्पको पक्षमा आएको भन्दै समर्थकहरुले भिल्लालाई ‘ट्रम्पकी फोहोरतुल्य राजकुमारी’ भनेर समेत व्यंग्य कसे । तर, भिल्लाले भने आफ्नो इन्टाग्राम अकाउन्टमा आएर आफ्नो पहिरनको बचावट गरेकी छन् । उनले लेखेकी छन्, ‘कहिलेकाहीँ तपाईले आफ्नो विचार खुलस्त व्यक्त गर्न पाउनुपर्छ । जीवन भन्नु नै खुल्ला बाँच्नु र प्रेम गर्नु हो ।’ भिल्लाले लगाएको ट्रम्पको नारा लिखित पहिरनको बारेमा पहिरन डिजाइनर फिलिपिन्स मूलका आन्द्रे सोरिआनोले पनि भिल्लाको बचावट गरेका छन् ।
उनले त्यो पहिरनलाई राष्ट्रपति ट्रम्पको समर्पणमा लेखिएको नाराको संज्ञा दिएका छन् । भिल्लाले ट्रम्पको नारा अंकित पहिरन पहिरिएकोमा ट्रम्प समर्थकहरु भने खुशी भएका छन् । उनीहरुले भिल्लाको ‘आँट’ को तारिफसमेत गरेका छन् । तर, ट्रम्पका विरोधिहरुले भने भिल्लाको त्यो प्रस्तुतिको लागि ट्रम्पले पैसा तिरेको भन्दै विरोधमा छन् । अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा व्यापक बहस भएको यो विषय ग्र्यामी अवार्डको आसपासमा भाइरलसमेत भएको थियो । पछि बीबीसीले पनि यो भाइरल समाचारलाइ प्राथामिकतामा राखेर लेखेपछि यो समाचार झनै भाइरल बन्यो ।
-विराट अनुपम