पिलोको स्याहार कसरि गर्ने ? किन पिलो जहिले अप्ठ्यारो ठाउँमा मात्र आउछ ?
गर्मीको मौसमसँगै छालाका विभिन्न समस्याहरू देखिने गर्दछन् । तीमध्ये पिलो पनि एक हो । पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ । यो असाध्यै दुख्ने र अप्ठ्यारो पार्ने खालको हुन्छ । हुन त छालाको रोग खटिराहरूलाई सामान्य रूपमा लिइन्छ तर पिलो छालाको रोगहरूमध्ये पनि असाध्यै अप्ठ्यारो हुने हुनाले यसको सामाजिक रूपमा चर्चा भएको पाइन्छ । पिलो जसलाई आएको छ उसलाई असाध्यै दुख्ने भए पनि पिलोलाई कहिलेकाहीँ ठट्टाको रूपमा पनि हेरिन्छ ।
किनभने पहिलो कुरा त यो निक्कै अप्ठ्यारो ठाउँमा आउँछ । जस्तो कसैको नाकैमा, कसैको ढाडमा, कसैको घाँटीको पछिल्लो भागमा, कसैको काखीमा त कसैको गुप्ताङ्ग वा सोको वरिपरि पिलो आएको पाइन्छ । त्यसैगरी अर्को कुरा केही समय अगाडिसम्म पनि पिलो निचोर्नका लागि परिवार वा टोलमा एक दुईजना नामै चलेका मानिसहरू पनि हुने गर्दथे । सामान्यतया पिलो हेर्दाखेरि डरलाग्दो, पीप भरिएको, रातो, तातो, ठूलो हुने गर्दछ ।
यसैले यसलाई निचोर्दा रगत र पीप लतपल भई आउने हुँदा निचोर्ने मानिस निडर र धैर्य हुनु जरुरी हुन्थ्यो । त्यसैगरी निचोर्दा बिरामीलाई असह्य पीडा हुने हुँदा कति बिरामीहरू रुने, कराउने, बोल्नै नसक्ने, चार-पाँचजना मानिसले समातेर राख्नुपर्नेजस्ता कुराहरू सुन्न देख्न पाइन्छ । जे होस्, परम्परागत ढङ्गले जे-जसो गरेर पिलोको उपचार गरी आए पनि आजको युगमा वैज्ञानिक ढङ्गले कुनै पनि रोगको उपचार गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ । आजको यस अङ्कमा हामी पिलो, यसको कारण, उपचार तथा रोकथामका बारेमा छलफल गर्नेछौँ ।
पिलो के हो ?
हाम्रो छालामा भएका रौंको जरा वा तेल ग्रन्थीमा कतबउजथयिअयअअगक बगचभगक भन्ने ब्याक्टेरियाले गर्ने सङ्क्रमणका कारण पिलो आउने गर्दछ । यो हेर्दाखेरि ठूलो खटिराजस्तो हुन्छ । खटिराको मध्यभागमा मुख हुन्छ । त्यसको वरिपरि पीप जमेको देख्न सकिन्छ । यो रातो, तातो र असाध्यै दुख्ने हुन्छ ।
कुनै-कुनै पिलोमा एकभन्दा बढी मुख हुन्छन् । त्यसको कारण एकभन्दा बढी रौंका जराहरू वा तेलग्रन्थीहरूमा सङ्क्रमण हुनु हो । विशेषगरी पुरुषहरूमा धेरैवटा मुख भएको पिलो आएको पाइन्छ । पिलो साधारणतया किशोर-किशोरीहरू तथा बयस्कहरूमा आएको पाइन्छ । बालबालिकाहरूमा पिलो आएको त्यति सुनिँदैन । कसैकसैलाई बारम्बार पनि पिलो आउने गर्दछ ।
किन आउँछ पिलो ?
पिलो यही कारणले आउँछ भनी ठ्याक्कै भन्न सकिँदैन । सामान्यतया मानिसहरूलाई सरसफाइमा ध्यान दिन नसकेको, कामको धपेडी धेरै भएको र खानपानमा ध्यान दिन नसकेको अवस्थामा पिलो आउने गर्दछ । तर, यससँग सम्बन्धित केही कुराहरूलाई याद गर्नुपर्छ । मुख्यतया सरसफाइमा ध्यान दिन नसकेको खण्डमा पिलो आउन सक्दछ ।
किशोरकिशोरीहरूमा हर्मोनको प्रभावले गर्दा छालामा रहेका तैलीय ग्रन्थीहरूबाट धेरै तैलीय पदार्थ निस्किएर फोहोर हुने हुनाले पनि सो उमेर समूहका व्यक्तिहरूमा यो समस्या देखिन सक्दछ । कहिलेकाहीँ केमिकलयुक्त पदार्थहरू जस्तो कस्मेटिकहरू आदिको कारणले गर्दा पनि पिलो आउन सक्दछ ।
साथै मधुमेह भएका बिरामीहरूलाई पनि पिलो आउने सम्भावना धेरै हुन्छ । त्यतिमात्र होइन शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थाहरू जस्तै एड्स, क्यान्सरजस्ता रोगहरू र स्टेरोइड भएका औषधिको प्रयोग भइरहेको अवस्थामा पनि पिलो आउन सक्छ । त्यस्तैगरी अत्यधिक मध्यपान गर्ने व्यक्तिहरू र लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूमा पनि पिलो आउने सम्भावना धेरै हुन्छ ।
पिलोको स्याहार
सुरुमा पिलो आउँदा रौंका जरावरिपरि सुन्निएको जस्तो देखिन्छ । यो दुख्ने गर्दछ । विस्तारै यो ठूलो हुन्छ, पाक्छ र पीप निस्किन्छ । पिलो आएदेखि पूरै निको हुन लगभग दुई हप्ताजस्तो लाग्दछ । पिलोलाई हातले छुनुभन्दा अगाडि र छोइसकेपछि राम्ररी साबुनपानीले हात धुनुपर्छ । जथाभावी पिलो निचोर्नु हुँदैन । पिलोलाई तातोपानीले सेकाउँदा यो छिटो पाक्छ र पीप निस्किन्छ ।
पानीले सेकाउनका लागि तातो पानीमा नरम तथा सफा सिरकको खोलजस्तो कपडा चोपेर, निचोरेर पिलो आएको ठाँउमा सहन सक्ने तापक्रममा सेकाउनुपर्छ । यो प्रक्रिया दिनमा सात-आठपटकसम्म गर्नुपर्छ । यसरी प्रयोग गरेका कपडाहरूलाई राम्ररी धोएर घाममा सुकाउनुपर्छ । पिलो राम्ररी पाकेपछि आफैं पीप बग्दछ । पिलोलाई जबर्जस्ती निचोर्दा यसवरिपरिको छालामा चोट पुग्न गई सङ्क्रमण, शरीरको अन्य भागमा सर्ने तथा रगतमा जाने खतरा हुन सक्दछ ।
नाक तथा मुखवरिपरिको पिलो त अझ कहिले पनि निचोर्नुहुँदैन । यस ठाउँमा आएका पिलोबाट सङ्क्रमण सरेर मस्तिष्कमा समेत सङ्क्रमण हुने खतरा हुन्छ । पीप बगेको खण्डमा सफा कपडाले सोसेर लिनुपर्छ । पिलो आउँदा साबुन लगाएर नुहाउनुहुन्छ । अझ किटाणुनाशक औषधि भएका साबुनले नुहाउँदा राम्रो हुन्छ । पिलोमा जथाभावी झारपात जडीबुटीहरू राख्नुहुँदैन । बिरामीको साबुन, रुमाल, लुगा, ओछ्यान कपडा, कस्मेटिक सामानहरू अरूहरूले चलाउनु हुँदैन । खानेकुरामा भिटामिन एयुक्त खानेकुराहरू जस्तै मेवा, फर्सी, सागपातजस्ता खानेकुराहरू प्रशस्त खानुपर्छ । चिल्लो तथा मसलादार खानेकुराहरू कम खानुपर्छ ।