धरान/शिक्षा निकेतन उच्चमाविका विद्यार्थीले बाहिरका युवाहरु ल्याएर प्राविधिक विद्यार्थीलाई आक्रमण गरेपछि स्कुलले खुल्ला क्षेत्रमा घेराबारा गरेको छ ।
निर्माण भइरहेको क्षेत्रमा पनि स्कुलले शुक्रबार घेराबारा गरेको छ । प्राविधिक तर्फका कक्षा १० मा पढ्ने अमर मगरलाई सोही स्कुलकै अप्राविधिकमा १० कक्षमै पढ्ने नदिम अन्सारीले बाहिरका युवाहरु ल्याएर आक्रमण गरेपछि सुरक्षा सर्तकता अपनाएको हो । मगरको दाँया आँखा, देब्रे कञ्चट र ढाँडमा छुरी प्रहार गरिएको थियो । स्कुल परिषर भित्रै यस्तो गम्भीर प्रकृतिको घटना घटेपछि प्राविधिक तर्फका विद्यार्थीहरुले स्कुल प्रशासनमा घेराउ गर्दै सुरक्षाको माग गरेका थिए ।
त्यस्तै उनीहरुले तत्काल अन्सारीलाई पक्राउ गरी कारबाही गर्नु पर्ने माग राख्दै प्रअको कार्याकक्ष अघि धर्ना दिएका थिए । उनीहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म माग अडिग रहने नाम नछाप्ने शर्तमा एक विद्यार्थीले बताए । ‘प्राविधिक विद्यार्थीहरुमाथि पटक पटक यस्तो घटना भएको छ । त्यसैले स्कुलले सुरक्षा प्रदान नगरेसम्म हाम्रो माग यथावत रहन्छ ।’ ती विद्यार्थीले भने । विद्यार्थीहरुले स्कुलका प्रहरीको निगरानीमा प्राविधिकका विद्यार्थीहरुलाई सुरक्षा प्रदान गरिनु पर्ने, यस्ता घटना बारम्बार नदोहोरिनको लागि विद्यालय प्रशासनले विद्यार्थीहरुसँग प्रतिवद्धता गर्नुपर्नेलगायतको माग छ ।
स्कुल कम्पाउन्ड भित्रै घटना भएकाले पनि स्कुल प्रशासनले यसको पूर्ण जिम्मेवारी लिनु पर्ने विद्यार्थीहरुको माग छ । प्राविधिक प्रशिक्षक तोया बास्तोलाले प्राविधिकका विद्यार्थीहरुलाई सामान्य विषयका विद्यार्थीहरुले धम्क्याउने, कुट्नेलगायतको काम भइरहेको बताए । ‘पटक पटक गरेर धेरै जनाले कुटाई खाइसकेका छन् ।’ उनले भने । मगर सोझो र इमान्दार विद्यार्थीमा गनिन्छन् । उनलाई बुधबार टिफिनको समयमा अन्सारीले बाहिरबाट युवाहरु ल्याएर ट्वाइलेट गएको मौका छोपी आक्रमण गरेका थिए । उनीहरुले छुरी तथा नोकको प्रयोग गरेको स्कुलले बताएको छ ।
विद्यार्थीहरुको मागलाई लिएर स्कुल प्रशासन गम्भीर रहेकोले पनि घेराबाराको काम गरिएको प्रअ उमेश गुरागाईले बताए । र, नजिकिदो चुनावलाई पनि लक्षित गरेर घेराबारा गरिएको बताए । भवन निर्माणको क्रममा रहेकाले पनि अन्सारीले उक्त क्षेत्रबाट प्रवेश गरी हातपात गरेको प्रअ गुरागाईले स्वीकारे । अन्सारी बुधबार टिफिन समयसम्म मात्रै बसेको प्रअ गुरागाईले बताए हाल ती विद्यार्थी फरार छन् । अन्सारीले मगरलाई आक्रमण गर्नुपूर्व प्राविधिक तर्फकै अर्का विद्यार्थी रिजन थापालाईसमेत हातपात गरेका थिए ।
मगर समूहकै एक विद्यार्थीसँग अन्सारीको विवाद भएको बुझिएको स्कुलले जनाएको छ । त्यही झोकमा उक्त विद्यार्थीलाई कुट्न आएका बेला मगर त्यो घानमा परेको प्रअ गुरागाईले बताए । पीडित विद्यार्थीका बुबा सीतारामले आक्रमणमा संलग्नलाई कारबाही तथा स्कुलबाट निश्कासन गर्नु पर्ने माग राखेका छन् । उनले आफ्नो छोरामाथि हातपात गर्नेलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने माग गरे । स्कुल प्रशासनले पनि विद्यार्थीलाई निश्कासन गर्ने बताएको छ । यस अघि पनि अन्सारीलाई स्कुल प्रशासनले चेतावनी दिएको थियो । १४ वर्षीय अन्सारी धरान–७ शुक्रपथमा बस्छन् । उनले यस अघि स्कुलको ब्लाकबोर्डमा फटाई कुराहरु लेखेपछि स्कुल प्रशासनले चेतावनी दिएको थियो ।
‘पहिला पनि ब्लाकबोर्डमा फटाइ कुरा लेखेछ । अफिसमा ल्याएर चेतावनी दिएर छाडेका थियौं ।’ प्रअ गुरागाईले भने । सुकुम्बासीमा बस्दै आएका उनी घटनापछि नै फरार रहेको पाइयो । ब्लाष्टकर्मीले उनका आफन्तहरुलाई बुझ्दा बिहान ८ बजे पार्टीको झण्डा बोकेर गएको र १२ बजे मात्रै आएको थियो । त्यसपछि फेरि हिडेको उनी घरमा आएनन् । उनको बुबाआमासमेत उनैलाई खोज्न गएको बताएका थिए । उनको परिवार नै भारत जाने तयारीमा रहेको छिमेकीहरुबाट बुझिएको छ । यस घटनालाई प्रहरीले वेवास्ता गरेको विद्यार्थीहरुको आरोप छ । तर, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले अन्सारीलाई खोजिरहेको बताए । ‘स्कुलमा जुन केटाको नाम आएको छ । केटा भागेको छ ।’ उनले भने, ‘बाहिरका केटा ल्याएर कुटपिट गरेको भन्ने सुनिएको छ ।’