काठमाडौं/ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा बुधबार प्रकाशित हुदैछ ।

ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले उक्त नजिता बुधबार बिहान १० बजे सार्वजनिक हुने बताए । प्रकाशित नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।

झण्डै ६८ हजारभन्दा बढीले दिएको परिक्षामा १० हजार २ सय जना उत्र्तीण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र कृषिमा ६ हजार २ सय उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ ।

भण्डारीका अनुसार परीक्षामा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकललगायतका प्रक्रिया सुरु हुनेछ । ईपीएस शाखाले परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने जनाएको छ ।

त्यस्तै, यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झण्डै तीन गुणा बढी रहेको छ । गत वर्ष भने ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।