धरान/भदौ १९ गते पोखरामा हुने राष्ट्रिय चित्रकला प्रतियोगिताको लागि सुनसरीका विभिन्न स्कुलका ३ जना छनौट भएका छन् । 

नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको आयोजना तथा शिक्षा सन्देश बोर्डिङ स्कुल धरान–६ पानवारीको व्यवस्थापनमा सम्पन्न छनौट प्रतियोगिताबाट प्रथम भई सैनिक आवासीय मावि धरानमा १० कक्षामा अध्ययनरत छात्र जेसिस तामाङ, द्वितिय भई शिक्षा सन्देश बोर्डिङ स्कुल पानवारीमा कक्षा ७ मा अध्ययनरत छात्रा दिर्शना बस्नेत र तृतिय भई राष्ट्रिय मावि तरहरामा कक्षा १२ अध्ययरत छात्र दिनेश राउतले बनाएको चित्र राष्ट्रिय चित्रकला प्रतियोगिताको लागी छनौट भएको हो । विद्यार्थीहरूमा अन्तर्नीहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरेको रेडक्रस सुनसरीका किरण कार्कीले बताए । उनले भने विद्यार्थीमा रहेको प्रतिभालाई यस्ता प्रतियोगिताले निखार्ने भएकोले प्रत्येक वर्ष प्रतियोगिताको आयोजना गर्दै आएको बताए । चित्रकला स्कुल तथा वातावरण सरसफाइका विषयमा रहेको थियो । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले वर्षेनी आयोजना गर्ने राष्ट्रिय चित्रकला प्रतियोगितामा गतवर्ष सैनिक आवासीय माविका छात्र संयक मगरले तेस्रो पुरस्कार जितेका थिए ।