जाजरकोट/ मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।
[caption id="attachment_54532" align="alignleft" width="389"] फायल फाटाे[/caption]दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ ।
मौसमी भाइरलको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट बिहीबार गएको स्वास्थ्यकर्मीसहितेको टोलीले शुक्रबार दिउँसोदेखि त्रिवेणीनलगाड नगरपालिका–५ स्थित सरस्वती प्रावि मुलीमा शिविर सञ्चालन गरी उपचार शुरु गरेको छ । शिविरमा ९० जनाको स्वास्थ्य उपचार गरिएकोमा तीमध्ये २० जना सिकिस्त बिरामी फेला परेको स्वास्थ्यचौकी लहँका अहेव हेमन्त रावलले जानकारी दिए।
सिकिस्त बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको रावलले बताए । आज इन्द्रधनुष प्राथमिक विद्यालय पोख्रामा थप केन्द्र विस्तार गरी उपचार कार्य शुरु गरिएको छ । बिहानैबाट शुरु भएको बिरामीको स्वास्थ्य उपचार कार्य अहिले जारी रहेको रावलले बताए । उपचार गर्दागर्दै औषधि सकिएका कारण थप औषधि लिन लहँ स्वास्थ्य चौकीमा कार्यालय सहयोगीलाई पठाएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयबाट थप स्वास्थ्यकर्मीको टोली गएर आज बिहानैदेखि मुलीमै उपचार कार्यमा लागेको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसमिति सदस्य प्रशान्त शर्माले जानकारी दिए ।
सो शिविरमा अहिलेसम्म ६० जनाको उपचार भइसकेको डा सञ्जय थापाले बताए । डाक्टर थापासहित चार जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । अहिलेसम्म थर्ममिटर र कम्पासकै भरमा उपचार भएको छ, खकार, रगत जाँच गर्ने उपकारण नभएका कारण अनुमानकै भरमा उपचारमा जुटेको रावलले बताए।
मौसममा सुधार नआएका कारण उपचारमा समस्या उत्पन्न भएको छ भने गाउँमै उपचार गर्न पाएपछि स्थानीय खुशी भएका छन् ।
बिहीबार ‘गाउँलेले उपचार नपाउँदा समस्या’ भन्ने समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो । रासस