काठमाडौं/ बीमा समितिबाट संचालन अनुमति पाएका नौ नयाँ जीवन बीमा कम्पनीमध्ये पाँचले कार्यालय उद्घाटनसँगै नयाँ पोलिसी पनि सार्वजनिक गरेका छन्। नयाँ कम्पनीले अधिकांश पोलिसी पुरानोको जस्तै ल्याए पनि केही ‘युनिक’ कार्यक्रम पनि समेटेका छन्। सबैभन्दा पहिला व्यवसाय उद्घाटन गरेको आइएमर्इ लाइफ इन्स्योरेन्सले छ वटा पोलिसी बजारमा ल्याएको छ। कम्पनीले आइएमर्इ आजीवन बीमा योजना(सावधिक), आइएमर्इ सरल (सावधिक) जीवन बीमा योजना, आइएमर्इ बाल उज्वल जीवन बीमा योजना(सावधिक), आइएमर्इ बाल उमंग जीवन बीमा योजना(अग्रीम भुक्तानी) सञ्चालनका लागि बीमा समितिबाट अनुमति पाइ सकेको छ। साथै कम्पनीले आइएमर्इ धन बर्धन जीवन बीमा योजना र आइएमर्इ सवल जीवन बीमा योजना पनि ल्याउने तयारीमा रहेको जनाएको छ। आइएमर्इ सवल जीवन बीमा योजनामा वैदेशीक रोजगारमा गएका नेपाली लक्षित गरेको कम्पनीका सहायक महाप्रबन्धक आशिष सिंहले बताए। यो योजनामा बीमितले अधिकतम ५ पटकमा बीमा शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ। बैदेशीक रोजगारमा गएका वेला राम्रो पैसा आम्दानी हुने हुँदा कमाएको बखत एकै पटक बीमा शुल्क भुक्तानी गरेर बीमा खरिद गर्न सकिने उनको भनाइ छ। धन बर्धन योजनामा बीमितले आफ्नो पोलिसी संचालन भएको ११ र १४ बर्षमा २५ र २५ प्रतिशत र १५ बर्षमा ५० प्रतिशत भुक्तानी फिर्ता र बोनस पाउने छन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले उद्घाटन लगत्तै धनपति जीवन बीमा योजना ल्याएको थियो। कम्पनीले ‘हामी सबै बन्न सक्छौं करोडपति मात्र चाहिन्छ इच्छाशक्ति’ भन्ने नाराका साथ न्युनतम १० बर्ष र अधिकतम ४० बर्षमा करोडपति बन्ने योजना समेत ल्याएको छ। त्यस बाहेक कम्पनीले सावधिक जीवन बीमा योजना, रिलायबल अग्रिम भुक्तानी जीवन बीमा योजना, रिलायबल शिक्षा जीवन बीमा योजना बजारमा ल्याएको छ। कम्पनीको उच्च शिक्षा जीवन बीमा योजनामा न्युनतम ५० हजार रुपैयाँसम्मको बीमा गर्न सकिने जनाएको छ। साथै अग्रिम भुक्तानी जीवन बीमा योजनामा बोनस दर ५० प्रतिहजार प्रस्ताव गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सले सुरुमा बीमाको सचेतना अभिबृद्धि गर्ने भन्दै कलाकारहरु धुर्मुश र सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे) लार्इ ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ। कम्पनीले अहिलेसम्म चारवटा प्रडक्ट बजारमा ल्याइ सकेको छ भने केहिको लागि बीमा समितिको अनुमति पर्खाइमा छ। कम्पनीले अग्रिम सावधिक भुक्तानी जीवन बीमा योजना, अग्रिम सावधिक जीवन बीमा योजना, म्यादी जीवन बीमा योजना, आजीवन जीवन बीमा योजना बजारमा ल्याएको हो। ज्योति लाइफ इन्स्योरेन्सले पाँचवटा बीमा योजना बजारमा ल्याएको छ। कम्पनीले ज्योति लाइफ वाल सावधिक योजना, आवधिक योजना, मनिव्याक योजना, आजीवन जीवन बीमा योजना र सुरक्षित बचत जीवन बीमा (सावधिक) योजना ल्याएको हो। युनियन लाइफ इन्स्योरेन्सले चार वटा पोलिसी बजारमा ल्याएको छ। कम्पनीले सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना बजारमा, ‘मनी ब्याक कम होल लाइफ’ बीमा योजना, लघु बीमा योजना सञ्चालनमा ल्याएको हो।
बिजमाण्डू