धरान/‘चिकित्साशास्त्रमा मानविकीको खोजी’ विषयको तेस्रो सिप्मोजियम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने भएको छ ।
प्रतिष्ठानको परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस) ले मंसिरको १ र २ गते सिम्पोजियम गर्ने भएको हो । दुईदिने कार्यक्रममा ‘मेडिसिन हरेक क्षेत्रसँग अन्तरसम्बन्धित हुने भएकाले त्यसलाई कसरी जोड्न सकिन्छ’ भन्ने विषयमा भिन्न भिन्न क्षेत्रका विज्ञहरुले आ–आफ्ना अनुभवहरु सेयर गर्ने छन् ।
कार्यक्रममा प्रा. अभि सुवेदी, उत्तम सञ्जेल, डा. चिन्तामणी योगी, डा. अरुणा उप्रेती, व्यवसायी विनोद चौधरी, डा. शेखर कोइराला, लालबाबु पण्डित, रंगकर्मी सुनिल पोखरेल, डा. विशाल ढकाल, किरणकृष्ण श्रेष्ठ, कवि झमक घिमिरेले आफ्नो अनुभव बताउने परिक्रमाका अध्यक्ष सुगत अधिकारीले बुधबारको पत्रकार सम्मेलनमा बताए ।
कार्यक्रमको अन्तिम दिन कवि झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडाकी फूल’ फिल्म प्रदर्शन हुने जेआरडब्लुएसका अध्यक्ष जीवनाथ धमलाले बताए । चिकित्सा शास्त्रलाई प्राविधिक रुपमा मात्रै बुझ्ने कारण पनि समस्या भइरहकाले सबै क्षेत्र मेडिसिनसँग जोडिने भएकाले पनि ‘चिकित्साशास्त्रमा मानविकीको खोजी’ विषयमा विगतदेखि कार्यक्रम गर्दै आइरहेको छ ।