काठमाडौं/ सरकारले २०७३ साल फागुन २ बाट मुटुको भल्भ निःशुल्क फेर्ने कार्यक्रम सञ्चालन गरेको थियो। यसबीचमा गंगालाल हृदय केन्द्रबाट ७ सयभन्दा बढीले यो सेवा लिएका छन्। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले मुटुको भल्भ निःशुल्क फेर्ने कार्यक्रमको सुरुवात गरेका थिए। यसअघि मुटुको भल्भ फेर्दा निजी अस्पतालमा करिब ४ लाख र गंगालालमा डेढ लाखदेखि ३ लाख रुपैयाँ खर्च लाग्थ्यो। अहिले यो सेवा गंगालाल अस्पतालसँगै शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियो थोरासिस तथा भास्कुल सेन्टर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सबै नागरिकका लागि निःशुल्क गरिएको छ। यो कार्यक्रम कत्तिको प्रभावकारी भइरहेको छ र कतिले यसबाट सेवा पाए भन्ने विषयमा स्वास्थ्यखबरका प्रवीण ढकालको रिर्पोट।

स्याङ्जाकी ३० वर्षीया कुसुम गुरुङलाई सानैदेखि सास फेर्न गाह्रो हुने समस्या थियो। समस्या बढ्दै गएपछि उनलाई उपचारका लागि पोखराको क्षेत्रीय अस्पताल लगियो। सामान्य उपचारपछि उनी घर पर्किइन्। यो थियो उनको बाल्यकालको अवस्था। तर, एक वर्षअघि उनलाई यो समस्याले बेस्सरी गलायो। उपचारका लागि उनी फेरि पोखरा झरिन्। पोखराका अस्पतालमा झन्डै तीन लाख जति खर्च भएपछि उनी काठमाडौं आइन्। काठमाडौं आएपछि मात्र उनको खास समस्या पत्ता लाग्यो। उनको मुटुको भल्भमा प्वाल परेको रहेछ। भल्भ फेर्न धेरै खर्च लाग्ने अनुमान लगाएर उनलाई लोग्नेले छाडेर भागेछन्। तर, उनले हिम्मत हारिनन्।

आफ्नी दिदीको सहयोगमा उपचार गर्ने निधो गरिन् र गंगालाल हृदय केन्द्र पुगिन्। उनको त्यहाँ निःशुल्क मुटुको भल्भ फेरियो। अहिले उनी गंगालालको बेड नम्बर २९ मा छिन्। अस्पतालको शय्यामा आराम गरिरहेकी उनले स्वास्थ्यखबरसँग भनिन्, ‘पैसा नभएर उपचार गर्न नसक्ने अवस्थामा रहेकी मजस्ता बिरामीलाई निःशुल्क उपचार गरिदिएर सरकारले ठूलो गुण लगाएको छ।’

कुशुम गुरुङ

उनले मुटुको भल्भको निःशुल्क शल्यक्रिया हुने खबर पत्रिकामा पढेर थाहा पाएको बताइन्। ‘फागुन २ गतेदेखि मुटुको भल्भको निःशुल्क शल्यक्रिया हुन्छ भन्ने पढेकी थिएँ,’ उनले भनिन्, ‘त्यसपछि मेरो खुसीको सीमा रहेन। अनि सोझै यता आएकी हुँ।’

उनले आफू पहिला अस्पतालमा आउँदा बिरामीको लाइन धेरै भएकाले कात्तिकमा शल्यक्रियाको मिति तोकिएको बताइन््। भनिन्, ‘एक साताअघि मात्र शल्यक्रिया भएको हो। अस्पतालले शुक्रबार डिस्चार्ज गर्ने भनेको छ।’

बर्दियाको बारबर्दिया नगरपालिकाका ५४ वर्षीय दिप्त थारुको पनि सोमबार मात्र शल्यक्रिया भएको हो। सास फुल्ने, हिँडडुल गर्न गाह्रो हुने भएपछि थारुले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गराएका थिए। सोही अस्पतालमा उनको मुटुको भल्भ फेर्नुपर्ने भनिएको थियो।

‘त्यति बेला यो अप्रेसनका लागि ३ लाखभन्दा बढी पैसा लाग्छ भनिएको थियो,’ उनका छोरा कालीरामले भने, ‘पैसा कहाँबाट ल्याउने होला भन्ने तनाव थियो। तर, पछि थाहा पाइयो यो रोगको शल्यक्रिया त निःशुल्क हुन्छ भन्ने।’

निःशुल्क शल्यक्रिया हुन्छ भन्ने थाहा पाएपछि गत असोजमा उनले बुबालाई गंगालालमा ल्याएको बताए।

दिप्त थारु ‘अस्पतालमा शल्यक्रियाका लागि लाइन लामो भएकाले एक महिनापछि बोलाउनु भयोे,’ कालीरामले भने, ‘बुबाको शल्यक्रिया निःशुल्क भएको छ। यो व्यवस्था सुरु गर्ने सबैलाई धन्यवाद। हामीजस्ता पैसा नभएका धेरैले सहज रुपमा उपचार पाउन सक्यौं।’

स्याङ्जाकी गुरुङ र बर्दियाका थारु जस्तै अस्पतालबाट निःशुल्क भल्भ फेर्नेको संख्या ७ सय भन्दा बढी भइसकेको छ।

गंगालाल अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार गंगालालमा हुने मुटुको कुल शल्यक्रियामध्ये ३० प्रतिशत जति बाथ मुटु रोगका कारण भल्भको शल्यक्रिया गर्नुपर्ने बिरामी हुन्छन्।

‘अहिले पनि दैनिक ७–८ जनाको शल्यक्रिया हुँदा भल्भ फेर्नुपर्ने बिरामी ३–४ जना हुन्छन्,’ उनले भने, ‘निःशुल्क सेवा सुरु भएपछि पैसा नभएर उपचारका लागि नआउने बिरामी पनि उपचारको दायरामा आएका छन्। यो खुसीको कुरा हो।’ उनले बिरामीको चापसँगै अस्पतालको क्षमता बढाउनुपर्ने अवस्था आएको बताए।

अस्पतालमा भल्भ फेर्नुपर्ने समस्या लिएर आएका बिरामीमध्ये ९० प्रतिशतभन्दा बढी बाथ मुटु रोगकै हुने गरेका छन्। बाथ मुटुरोग बालबालिकालाई मात्र लाग्छ। तर, यो रोगले उमेर बढ्दै जाँदा भल्भ नै फेर्नुपर्ने अवस्था वा अन्य गम्भीर समस्या निम्त्याउँछ।

यो रोग ३ देखि १५ वर्ष उमेरका बालबालिकामा ‘ग्रुप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ। यो ब्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि बाथ मुटुरोग लाग्छ। यसका लक्षणमा ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने हुन्छ। बाथ ज्वरोले मुटुको भल्भमा असर गर्योन भने जीवनभर दुःख दिने निर्देशक डा शर्माले जानकारी दिए।

बाथ ज्वरो वा बाथ मुटुरोगका कारण भल्भहरू खुकुलो वा साँगुरो हुने गर्छन्। जसले मु भित्रको रक्त प्रवाहमा बाधा पुग्छ। बिरामीलाई हिँड्दा वा थोरै काम गर्दा पनि स्वाँ–स्वाँ हुने, थकाइ लाग्ने, मुटु हल्लिने र दम बढ्ने हुन्छ।

स्वास्थ्य खबरपत्रिका