रासस/ नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको बताए । सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नं ३ ले आयोजना गरेको बृहत् चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताए । नेपाली काँग्रेसका तर्फबाट सुनसरी क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले आफू पटकपटक यो क्षेत्रबाट जितेर गएको र त्यसपछि यस क्षेत्रको डुबान कटान र हिलो धुलो रहेको बाटोमा ग्राभेल तथा पुल निर्माण गरिदिएको बताए । उनले सुनसरी क्षेत्र नं ३ मा आफूले गरेको विकास जनताको आँखासामु छर्लङ्ग रहेको बताउँदै एमाले माओवादीले गरिरहेको चुरीफुरी जनताले बुझिसकेकाले आफू छैटौँ पटकसमेत जित्ने जिकिर गरे । उपप्रधानमन्त्री गच्छदारले बाँकी रहेको काम अब पूरा गर्ने र ५ वर्षभित्र सबै बाटो कालोपत्र गर्नेसमेत दाबी गरे । कार्यक्रममा तीन सयभन्दा बढी विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु : उपप्रधानमन्त्री गच्छदार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































