झापा/ सरकारले लागू गरेको नियम मिच्दै सार्वजनिक स्थलहरुमा जथाभावी मदिराजन्य पदार्थको बिक्री भइरहँदा नियमनकारी निकाय भने रमिते बन्ने गरेको छ । आवश्यक इजाजत पत्र लिएर तोकिएको स्थानहरुमा मात्र बिक्री गर्न पाइने मदिराजन्य पदार्थको जथाभावी बिक्रीले सवारी दुर्घटना, झैझगडा, घरेलु हिंसालगायतका घटनाहरुमा समेत वृद्धि भएको सरोकारवालाहरुको भनाइ छ ।
समाजमा अवाञ्छित गतिविधि गराउन सहयोग पुग्ने र मानव स्वास्थ्यको लागि हानिकारक रहेको मदिराजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि सञ्चालन हुने अभियान, गोष्ठी, तालिम लगायतका कार्यक्रमहरु केवल देखावटीमा मात्र सीमित भएको पाइन्छ । यसैबीच झापाको अर्जुनधारा–९ सालबारीस्थित पर्यटकीय स्थल सुखानी शहीद स्मृति उद्यानमा सोमबार पूर्वाञ्चलकर्मी पुग्दा उद्यानभित्र सञ्चालनरत् पसल र उद्यान परिसर नजिक मदिराजन्य पदार्थको जथाभावी बिक्री वितरण भइरहेको भेटियो ।
त्यसैगरी शनिश्चरे प्रहरी चौकीका असई सुरेशकुमार निरौलाले सार्वजनिक स्थलमा जथाभावी बिक्री गरिने मदिराजन्य पदार्थ नियन्त्रणको लागि प्रहरी एक्लैको प्रयासले सफल नहुने बताए । यसको नियन्त्रणको लागि स्थानीय र सम्बन्धित निकायले सहयोग गर्नुपर्नेमा असई निरौलाको जोड रहेको थियो