पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिकाको केन्द्र बिबाद अन्ततः सुल्झिएको छ । दुई पक्षबीच केन्द्र बिबाद उत्कर्षमा पुगेपछि मंगलबार मतदान प्रक्रिया मार्फत केन्द्र बिबाद टुंगो लगाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत मौसम ढुंगेलले बताए । गाउँपालिकाको वडा नं.३ को थोक्लिम्बा वा मच्चेबुङ मध्ये कुन स्थानमा केन्द्र बनाउँने भन्नेमा दुई पक्षबीच बिबाद चर्किएको थियो । गाउँपालिका अध्यक्ष सञ्च कुमार केरुङ मच्छेबुङलाई केन्द्र बनाउँने पक्षमा थिए भने अर्को पक्ष भौगोलिक अवस्था र सबैलाई पायक पर्ने स्थान भएको भन्दै थोक्लिम्बामा केन्द्र बनाउँनुपर्ने अडानमा थियो । दुई पक्षबीच सहमति जुट्न नसकेपछि मंगलबार गाउँ कार्यपालिकाको मतादान हुँदा थोक्पिम्बाको पक्षमा २४ र मच्छेबुङको पक्षमा १७ मत खसेको थियो । अब गाउँपालिकाको केन्द्र थोक्लिम्बा हुने पक्का भएको छ । केही समय अघि जिल्लाको हिलिहाङ गाउँपालिकामा पनि केन्द्र बिबाद मिल्न नसक्दा मतदान गर्नुपरेको थियो । उक्त गाउँपालिकाको गोपेटार र साबिक पञ्चमी गाविसको कार्यालय मध्ये कुन स्थानलाई केन्द्र तोक्ने भन्ने मतदानमा साबिक पञ्चमी गाविसको कार्यालयको पक्षमा बहुमत प्राप्त भएको थियो ।