विराटनगर/ विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले केही दिनपछि अनलाइनबाटै विद्युत् महसुल भुक्तानी गर्ने मिल्ने तयारी थालेको छ। अनलाइन प्रविधिबाटै बिल तिर्ने व्यवस्था भएपछि ५९ हजार ग्राहकले अब लाइन बसेरै बिल तिर्नुपर्ने बाध्यता हट्नेछ।

अनलाइन प्रविधिबाट बिल तिर्नका लागि प्राधिकरणले ७ वटा वित्तिय संस्थासँग सम्झौता समेत गरिसकेको विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठले बताए। नेपाल इन्भेष्टमेन्ट बैंक, इ सेवा प्रा.लि., पे प्वाइन्ट प्रा.लि., सिएफएस रेमिट प्रा.लि., महालक्ष्मी विकास बैंक, सिटी एक्स्प्रेस मनि ट्रान्सफर र हिमालयन बैंकसँग प्राधिकरणले गत असोज २० गते नै सम्झौता गरिसकेको छ।

यस बाहेकका वित्तिय संस्थासँग पनि सम्झौता गरिने र सकेसम्म सबै वित्तिय संस्थाबाट बिल तिर्न सकिने ब्यवस्था मलिाउन प्राधिकरण लागिरहेको श्रेष्ठको भनाई छ। प्राधिकरणले काठमाडौंमा अनलाइन बिलबाट भुक्तानी गर्ने प्रविधि सुरु गरिसकेको छ भने पूर्वमा झापाको दमकमा पनि संचालनमा छ। ‘विराटनगरमा पनि अब एक्डेढ हप्तामा हामी अनलाइन सिस्टम सुरु गर्छौं,’ श्रेष्ठले भने, ‘यो सिस्टम लागूभएपछि ग्राहकका लागि केही सजिलो हुने अपेक्षा छ।’

प्राधिकरणले स्मार्ट कार्ड र रिचार्ज कार्ड सिस्टममा जानका लागि पनि तयारी गरिरहेको उनले बताए। विराटनगर वितरण केन्द्रबाट अहिले ५० देखि ५५ मेघावाट विद्युत् वितरण भइरहेको छ। यस कार्यालयमा दैनिक २० देखि २५ लाख महसुल उठ्ने गरेको छ। सेवा सुधार गर्ने लक्ष्य यसअघि विद्युत् प्राधिकरणले लोडसेडिङ गरेको भन्दै सर्वसाधरणको तारो बनेका कर्मचारी लोडसेडिङ अन्त्य भएसँगै आनन्द महसुस गरिरहेका छन्।

विगतमा जस्तो लाइनको माग गर्दै विद्युत् प्राधिकरणको गेटमा धर्ना दिने वा हाकिमको कुर्सी फुटाउने क्रम पनि रोकिएको छ। मिटर बक्स पाउनकै लागि महिनौँ धाउनु पर्ने र सोर्सफोर्स लगाउनु पर्ने बाध्यता पनि अहिले हटेको छ। ‘अहिले बढीमा १ हप्तामा हामी मिटर उपलब्ध गराउँछौं,’ प्राधिकरण प्रमुख श्रेष्ठले भने,‘ग्राहकको कमजोरीले नै ढिला भएमात्रै हामीबाट ढिला हुँदैन।’ विद्युत् चोरीको समस्या पनि अहिले कम हुँदै गएको श्रेष्ठले बताए।