भद्रपुर/ शिलान्यास भएको दुइ वर्ष वितिसकेपनि झोलुङ्गे पुल निर्माण सम्पन्न हुनसकेको छैन । झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारीबासीका स्थानीयलाई मध्यनजर गर्दै मेची नदीमा निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नबनेका कारण गाँउमा समस्या भएको हो । गाँउमा बिजुली आएपनि पुल नबन्दा उनीहरुको पीडा जस्ताको त्यस्तै छ । निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने झोलुङ्गे पुलको काम २८ महिनामा पनि सकेको छैन । ठेकेदारले निर्माण कार्य अलपत्रमा छाडेर बेपत्ता बनेपछि अहिले स्थानीय नदी तर्न बाध्य छन् । हिउँदमा त नदी तर्दा समस्या छैन, तर बर्खाको तीन महिना स्थानीयको आवतजावत नै ठप्प हुन्छ । उनीहरु नेपाली नागरिक भएपनि भारतमा निर्भर हुन बाध्य परेका छन् ।
भारतीय भूमिसंग जोडिएको मेची नदी पारी टाँपू आकारमा रहेको सानो गाउँलाई भद्रपुरसंग जोड्ने उदेश्यले नेपाल सरकारले आर्थिक बर्ष २०७२/७३ मा एउटा योजना अघि सारेको थियो । तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको समयमा सरकारले मेचीपारीबासीको सेवासुविधालाई मध्यनजर गर्दै मेची नदीमा झोलुङ्गे पुल निर्माणका लागि बजेट निकासा गरेको थियो । नदीमा झोलुङ्गे पुल बन्ने दशकौदेखि सपना पूरा हुन लागेपछि मेचीपारीका १ सय ४० घरपरिवार खुशी बनेका थिए तर निर्माण कम्पनी बेपत्ता बनेपछि हाल उनिहरुमा निराशा छाएको छ । नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २०७२ असोज ११ गते भव्य समारोहका बिच पुलको शिलान्यास गर्दै समयमा काम सम्पन्न गराउन सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई जानकारी गराएपनि त्यसले निरन्तरता पाउन नसकेका कारण पुल निर्माण सम्पन्न हुनेमा अनयोल देखिएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट भ्याट सहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयामा निल गिरी सेवा प्रा.(लि) बानेश्वर काठमाडौले २०७२ भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो । २ सय ८० मिटर लामो र १३ मिटर चौढाई सहितको पुलको निर्माण कार्य १८ महिना अर्थात २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएको हो । तोकिएको समय अवधि सकिएर १० महिना बढी भइसकेको छ । अहिले निर्माणस्थलमा एउटा टहरामा दुई/चार जना कामदार बस्दै आएका छन् । दुई वटा पिलरको काम अधुरो बनाएर छोडिएको पाइएको छ । पुलको लागि ल्याएको सामग्री खिया लाग्न र सिमेन्ट डल्लो पर्ने थालिसकेको छ । दशैंअघि दुईवटा पिलरको अधुरो काम सकेर वेपत्ता भएको ठेकेदार अहिले सम्म देखा नपरेको स्थानीय हावालाल सिंह राजवंशीले गुनासो पोख । तीन बर्षदेखि पिलर उठाउने काम मात्र भइरहेको उनले बताए । बर्खा आउन केही महिना मात्र बाँकी भएकोले हाम्रो पीडाको सुनवाइ हुननसकेको उनले बताए ।
वर्षमा दुई महिना काम हुने र अन्य महिना बन्द हुने गरेको स्थानीय मिस्त्री राजवंशीले बताए । एक बर्ष आफैले पुलको रेखदेखको जिम्मा लिएर हेर्दे आएको उनको भनाइ छ । तर, कामले निरन्तरता नपाएपछि हेर्ने जिम्मेवारी छाडिदिएको उनले बताए । ठेकेदारले सामान ओसार पसारमात्र गर्दै आएको उनको भनाइ छ । ठेकेदारको मान्छे आउने जानेबारे गाउँबासीलाई केही थाहा नहुने उनको भनाइ छ ।