धरान/धरान–२ मा बिहीबार राति एक सुनचाँदी कारखानामा आगलागी भएको छ ।
[caption id="attachment_66908" align="aligncenter" width="800"]
तस्बिर साैजन्यः बसन्त वान्तवा [/caption]
धरान–२ का श्यामगोविन्द श्रेष्ठको भाडामा रहेको घरमा भारतीय नागरिक सन्दीप पुवाँरले सञ्चालन गरेको कारखानामा आगलागी भएको हो । आगलागीको कारण यकिन नभए पनि सुन पगाल्नको लागि प्रयोग गरिने कोइलाबाट आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण आउन सकेको छैन् । तर, आगलागीमा परी सुनचाँदी पगाल्न प्रयोग गरिने मेसिन र कोठामा रहेका फर्निचरका सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । स्थानीयको भनाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले कारखानामा सुनचाँदी नराखिएकाले बढी क्षतिबाट हुनबाट बचेको छ ।
बिहीबार राति करिव ७ः४५ बजेतिरबाट सुरु भएको आगो नियन्त्रण लिन झण्डै एक घण्टा लागेको थियो । स्थानीयबासी, जनपथ प्रहरी र धरान उपमहानगरको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको इप्रका डिएसपी पौडेलले जानकारी दिए । सञ्चालक पुवाँर भने भारत गएको र उनका कामदारहरुले काम सकेर फर्किएको केही क्षणपछि नै आगलागी भएको स्थानीयले बताएका छन् ।
आगलागी भएको सुनेर एक कामदार अचेत बनेपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको लागि लगिएको छ । तर, ती कामदारको नाम भने खुलेको छैन् ।