सुनसरी । जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाको किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै पाँच ठाउँमा कृषि सेट टहरा निर्माण गर्ने भएको छ । आफ्ना खेतबारीमा कृषकले उत्पादन गर्ने काउली, गोलभेँडा, बन्दाकोबी, सागपात, टमाटर लगायतका सामग्री राखेर बिक्री–वितरण गर्नका लागि टहरा निर्माण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । कार्यालयले जिल्लाको कोशी गाउँपालिकास्थित हरिपुर हाट, श्रीपुरको कोशी कटान राजमार्ग छेउ, बर्जू गाउँपालिकाको चिमडी आसपास क्षेत्रमा, दुहवी नगरपालिकाको पूर्वकुशाहामा र बराहा नगरपालिकाको मधुवन वा प्रकाशपुरमध्ये एक स्थानमा गरी पाँच स्थानमा कृषि टहरा निर्माण गरिने भएको हो । कृषि सेट टहरा निर्माण गर्नका लागि सम्झौतासमेत भइसकेको र छिट्टै निर्माण कार्य थालिने जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो ।